काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक भदौ २५ गतेसम्मका लागि स्थगित भएको छ।
बुधबार अपराह्न बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले नाराबाजी गरेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको थियो।
त्यसपछि फेरि सुरु भएको बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेका थिए । त्यसपछि पनि बैठक फेरि १५ मिनेटका लागि स्थगित भएको थियो ।
तेस्रोपटक सुरु भएको बैठकमा एमालेको विरोधका बावजुद गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी अध्यादेश संसदमा प्रस्तुत गर्नुभएको थियो ।
त्यसको केहीबेरमै सभामुख अग्नीप्रसाद सापकोटाले भदौ २५ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गर्नुभएको हो ।
त्यसअघि बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटा जंगिनुभएको थियो ।
आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएको भन्दै नेकपा एमालेले नाराबाजी सुरु गरेपछि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था हेर्नू भन्दै एमाले सांसदसँग जंगिनुभएको हो ।
उहाँले एमालेले उठाएको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यस विषयमा प्रतिनिधिसभामा छलफल गर्न नमिल्ने बताउनुभयो ।
त्यस्तै यो विषय प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ख, ग र घ को प्रावधान विपरीत सभामुख सापकोटाले बताउनुभयो ।
एमाले सांसदहरुले सभामुखको व्यवहार मुर्दावाद भन्दै नाराबाजी गरेपछि सभामुख सापकोटा चर्को शब्दमा बोल्नुभएको थियो । उहाँले सांसदहरुलाई मर्यादाबाहिर नजान चेतावनीसमेत दिनुभयो ।
‘माननीय सदस्यहरु देशमा संविधान छ, कानुन छ, ऐन छ मर्यादाबाहिर नजानुहोला, संसदको गरिमा र मर्यादाभन्दा बाहिर नजानुहोला’ उहाँले भन्नुभयो, ‘फेरि पनि म म भन्छु प्रतिनिधिसभा नियमावली २०७५ को ख र ग गम्भीर ढंगले आकर्षित गर्न चाहन्छु ।
सभामुखले भनेको नियमावलीको नियममा सभामुखको आचरणको आलोचना गर्न नहुने विषय छ ।