काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनको दोष सभामुख अग्नि सापकोटा र निर्वाचन आयोगलाई थोपर्नुभएको छ ।
सभामुख सापकोटा र निर्वाचन आयोगको षड्यन्त्रका कारण एमाले फुट्न नदिने आफ्नो प्रयास सफल नभएको उहाँले आरोप लगाउनुभयो ।
एमालेबाट विद्रोह गरी माधवकुमार नेपाल समूहले एकीकृत समाजवादी पार्टी दर्ताका लागि सनाखत गरेकै दिन ओलीले पत्रकार सम्मेलन गरेर विभाजनको दोष सभामुख र आयोगलाई लगाउनुभएको हो ।
एमालेले १४ जना सांसदलाई कारबाही गरेको सूचना टाँस नगरेर सभामुखले पार्टी विभाजनका लागि षड्यन्त्र गरेको र निर्वाचन आयोगले त्यसमा साथ दिएको ओलीले आरोप लगाउनुभयो ।
तर एमालेबाट विद्रोह गरी नयाँ पार्टी निर्माण गरेका नेताहरुले भने अध्यक्ष ओलीले नै एमाले फुटाएको दाबी गरेका छन् । एकीकृत समाजवादी पार्टीका नेता बेदुराम भुसालले आफूले पार्टी विभाजन गरेको अपराध लुकाउन ओलीले अरुलाई दोष लगाइरहेको बताउनुभयो ।
एमाले र माओवादीको एकता भंग भैसकेपछि फाुगन २८ गते आफ्नो मात्रै समूहका नेताहरुको बैठक राखेर विभिन्न निर्णय गर्दै ओलीले पार्टी विभाजन गरेको उहाँले बताउनुभयो ।
राजनीतिक विश्लेषक डा. लोकराज बरालले पनि एमाले विभाजनको दोष अध्यक्ष ओलीले अरुलाई लगाउन नमिल्ने बताउनुभयो । उहाँले आफ्नो घर भत्काउने कि बलियो बनाउने भन्ने कुरा घरमुलीका निर्भर हुने बताउनुभयो ।
नेकपा एकता भंग हुनेदेखि एमाले विभाजन हुनेसम्मका सबै राजनीतिक घटनाक्रमको मुख्य जिम्मेबार ओली नै रहेको उहाँले बताउनुभयो ।
ओलीको अत्याचारले सीमा नाघेपछि पार्टी फुटेको बताउने एकीकृत समाजवादीका नेताहरु अब आफ्नो पार्टी मुलुकको सबैभन्दा ठूलो बन्ने दाबी गर्न थालेका छन् ।
माओवादी केन्द्रसँग छिट्टै एकता हुने र एकीकृत समाजवादी पार्टीकै वरिपरि अब राजनीतिक घुम्ने नेता मेटमणि चौधरीले बताउनुभयो ।
उहाँले चार महिनाभित्र माओवादी केन्द्रसहित राष्ट्रिय जनमोर्चा र पूर्व माओवादी घटकहरुसँग पनि एकता हुने दाबी गर्नुभयो ।
तत्कालीन नेकपा माओवादी र एमालेबीच भएको चुनावी गठबन्धनलाई जनताले झण्डै दुई तिहाई बहुमत दिएर अनुमोदन गरेका थिए । दुई ठूला कम्युनिष्ट पार्टीबीच चुनावपछि एकता पनि भएको थियो ।
तर पार्टीभित्रको आन्तरिक संघर्षलाई नेतृत्वले व्यवस्थापन गर्न नसक्दा कम्युनिष्ट शक्ति फेरि तितरबितर भएको छ ।