काठमाडौं – अफगानिस्तानमा अनौपचारिक क्षेत्रमा कति नेपाली कार्यरत छन् भन्ने तथ्यांक नै नभएको सरकारले जनाएको छ ।
औपचारिक क्षेत्रमा कार्यरत करिबब १५ सय नेपालीलाई भने अरु कर्मचारीहरुसँगै सुरक्षित स्थानमा लैजान सम्बन्धित संस्थालाई आग्रह गरिएको परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेलले बताउनुभएको छ ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकमा परराष्ट्र सचिव पौडेलले अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुलाई सम्पर्कमा आउन सूचना जारी गर्ने तयारी भइरहेको बताउनुभएको हो ।
आज बिहान मात्र मुख्यसचिवको नेतृत्वमा बसेको बैठकले परराष्ट्रका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा संयन्त्र बनाएको छ । जसमा सिसिएमसीका साथै गृह, पर्यटनलगायतका मन्त्रालयका प्रतिनिधि रहनेछन् । यो संयन्त्रले पनि अनौपचारिक क्षेत्रमा रहेका नेपालीहरुको अवस्थाबारे अध्ययन गर्ने परराष्ट्र सचिव पौडेलले जानकारी दिनुभयो ।
औपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुको उद्धारका लागि भने नेपालस्थित कूटनीतिक नियोगहरुसँग पनि कुराकानी भइरहेको उहाँले बताउनुभएको छ ।
अफगानिस्तान अहिले तालिवानको कब्जानजिक पुगेको छ । यसले गर्दा त्यहाँ धेरै नेपाली अफ्ठ्यारोमा पर्ने अवस्थामा रहेको बताइएको छ ।