काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी साउन ३२ गतेसम्मको लागि स्थगित भएको छ । आजको बैठकमा शुन्य समयबाहेक विशेष समयमा बोल्ने कुनै कार्यक्रम नरहेकाले बैठक सभामुख अग्नि सापकोटाले सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गर्नु भएको हो ।
आजको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको शब्दप्रति एमालेले आपत्ति जनाएको थियो । आजको बैठक सुरु हुनासाथ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यादवको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गनुृ भएको थियो।
उहाँको मागपछि सभामुख अग्नि सापकोटाले मातृकाको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिनु भएको हो । यादवले बिहीबार ओलीमा मेन्टल्ली र फिजिकक्ली समस्या रहेको विवादित अभिव्यक्ति दिनु भएको थियो।
बैठकको शुन्य समयमा सांसदहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राखेपछि बैठक सकिएको घोषणा गरिएको थियो ।