Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कुलमानले अब सुदूरपश्चिमलाई प्राथमिकता दिनुपर्छ

कुलमानले अब सुदूरपश्चिमलाई प्राथमिकता दिनुपर्छ

  • बुधवार, श्रावण २७ २०७८

  • 981
    SHARES

  • कुलमानले अब सुदूरपश्चिमलाई प्राथमिकता दिनुपर्छ

    काठमाडौँ – दैनिक १८ घण्टासम्मको लोडसेडिङ हटाएर लोकप्रियताको शिखर चुमेका कुलमान घिसिङलाई सरकारले दोस्रो पटक नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेपछि उहाँप्रति बधाई र सरकारलाई धन्यवाद दिनेहरुले सामाजिक सञ्जाल रंग्याएका छन् ।

    दैनिक १८ घण्टाको अन्धकार हटाउने कुलमानले देशलाई फेरि पनि थप उज्यालो बनाउने आशा र अपेक्षा आम नागरिकहरुबाट व्यक्त भइरहेको छ।

    कतिपयले विद्युत प्राधिकरण सुधार गरिसकेका कुलमानलाई सुधार गर्नुपर्ने अरु कुनै निकायको जिम्मेबारी दिएको भए अझ राम्रो हुने थियो भन्ने तर्क पनि गरिरहेका छन् ।

    तर विद्युत प्राधिकरणमा सुधार गर्नुपर्ने अझै धेरै काम बाँकी नै रहेकोले कुलमानको दोस्रो कार्यकालमा त्यो पूरा हुने अपेक्षा पनि नागरिक तहबाट व्यक्त भैरहेको छ ।

    देश लोडसेडिङमुक्त भए पनि सुदूरपश्चिसहित तराईँका जिल्लाहरुमा अहिले पनि अघोषित लोडसेडिङ कायमै छ । अनियमित विद्युतले नागरिकहरु हैरानीमा छन् । उद्योगहरु चल्न सकिरहेका छैनन्।

    धनगढीका पत्रकार शिवराज भट्टले मुलुकको पश्चिमी क्षेत्रमा लो भोल्टेज र अनियमित विद्युत लगायतका समस्या समाधानमा नवनियुक्त कार्यकारी निर्देशक घिसिङले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

    यसका साथै सुदूरपश्चिममा प्रशारण लाइन बिस्तारको कामलाई पनि प्राथमिकता दिइनुपर्ने उहाँले बताउनुभयो ।

    प्रचण्ड गर्मीमा पंखा समेत नचल्ने गरेपछि कैलाली कञ्चनपुर लगायतका जिल्लाका बासिन्दाहरु निकै समस्यामा रहेको उहाँले बताउनुभयो ।

    २०७७ साल भदौमा आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर बिदा भएका घिसिङको कार्यकाल थप्न चौतर्फी जनदबाब भए पनि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले मानेको थिएन ।

    तर अहिले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेका हितेन्द्रदेव शाक्यलाई अन्यत्रै व्यवस्थापन गरेर भए पनि घिसिङलाई नै विद्युत प्राधिकरणमा ल्याएको छ ।

    घिसिङलाई पुनःनियुक्त गर्ने क्रममा सत्तारुढ दलका नेताहरुमा जस लिने होडबाजी पनि चल्यो । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले प्रधानमन्त्रीको निर्देशनमा कुलमानलाई प्राधिकरणमा ल्याउन थालिएको समाचार प्रवाह ग¥यो भने माओवादी नेताहरुले प्रचण्डको सक्रियतामा कुलमानलाई नियुक्ती दिइएको भनेर प्रचारबाजी गरिरहेका छन् ।

    राजनीतिक विश्लेषक मुमाराम खनाल क्षमतावान व्यक्तिहरुलाई राजनीतिक नियुक्तिमा अवसर दिने कुरामा दलहरुबीच होडबाजी चल्नुलाई नाजायज भन्न नमिल्ने टिप्पणी गर्नुभयो । यद्यपि कुन व्यक्तिलाई प्रयोग गरेर दलहरुले के प्राप्ति गर्न चाहन्छन् भन्ने विषय अझ महत्वपूर्ण हुने उहाँको भनाई छ ।

    यसैबीच विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो इनिङ आफ्नो जीवनकै ठूलो चुनौती भएको बताउनुभएको छ ।

    आज (बुधबार) प्राधिकरणमा पदभार ग्रहण गर्दै घिसिङले दोस्रो इनिङ स्वीकार गरेर आफूले ठूलो चुनौति लिएको बताउनुभयो । उहाँले विद्युत प्राधिकरणलाई गुनासो नआउने संस्थाका रुपमा विकास गरिने बताउनुभयो । प्राधिकरणभित्रको अनियमितता हटाए शुशासन कायम गर्न आफू लागि पर्ने घिसिङले बताउनुभयो ।

    यसैबीच सरकारले मासिक २० युनिटसम्म खपत गर्ने विपन्न वर्गका ग्राहकहरुलाई निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आज पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले यो निर्णय गरिसकेको जानकारी दिनुभयो ।

    हाल यस्तो सुविधा १० युनिटसम्म मात्रै खपत गर्नेहरूले पाइरहेका छन् । अब डिप ट्युवेलमा विद्युत बढी माग हुने समयमा महसुलको ५० प्रतिशत र अन्य समयमा ८० प्रतिशत छुट दिइने पनि उहाँले बताउनुभयो ।


    बुधवार, श्रावण २७ २०७८०७:५९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij