Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

'विमला वलीलाई मुख्यमन्त्री निवासमा बन्धक पारिएको दाबी वाहियात !'

'विमला वलीलाई मुख्यमन्त्री निवासमा बन्धक पारिएको दाबी वाहियात !'

  • बिहिवार, श्रावण २१ २०७८

  • 1.3K
    SHARES

  • 'विमला वलीलाई मुख्यमन्त्री निवासमा बन्धक पारिएको दाबी वाहियात !'

    काठमाडौँ – नेपालको संसदीय प्रणालीमा सांसद किनबेच हुनु नौलो कुरा हैन। त्यसको पछिल्लो उदाहरण अहिले लुम्बिनी प्रदेशमा देखिएको छ।

    प्रदेशसभा सदस्य विमला वली कहिले आफू माओवादी केन्द्रमा रहेको त कहिले एमालेमा फर्केको भन्दै मिडियाबाजी गरिरहनुभएको छ। अझ रोचक कुरा त के भने उहाँले आफू अपहरणमा परेको र मुख्यमन्त्री निवासमा एमालेका नेताहरुले पाँचदिनसम्म बन्धक पारेको भनेर अपत्यारिलो दाबी पनि गर्नुभएको छ।

    यसअघि लुम्बिनीमा शंकर पोखरेल नेतृत्वको सरकार ढाल्ने प्रयास चदिरहँदा नेकपाबाट निर्वाचित वलीले आफूले माओवादी केन्द्र रोजेको भन्दै विज्ञप्ति प्रकाशन गर्नुभएको थियो। त्यतिबेला बहुमत जुटाउन नसकेपछि पोखरेल सरकार ढाल्ने विपक्षीको प्रयास सफल भएन।

    तर पछिल्लो पटक जसपाका सांसदहरु कारबाहीमा परेपछि लुम्बिनीमा पोखरेल सरकारको बहुमत फेरि गुमेको छ। एक जना सांसद तान्न सके पोखरेल सरकारको बहुमत जोगिने गणित रहेको अवस्थामा सांसद वली एकाएक सम्पर्कबिहीन भएको खबर आयो।

    त्यसको ६ दिनपछि आज वलीले पत्रकार सम्मेलन गरेर आफूलाई एमालेका नेताहरुले घरबाटै अपहरण गरेर मुख्यमन्त्रीनिवासमा बन्धक पारेको आरोप लगाउनुभएको छ।

    उपचारका लागि तुलसीपुरस्थित घरबाट नेपालगञ्ज जाने तयारीमा रहेका बेला आफूलाई एमाले नेताहरुले ‘हामी पनि नेपालगञ्ज जाने हो सँगै जाऔँ’ भनेर गाडीमा राखेर बुटवल लगेको र मुख्यमन्त्री निवासमा बन्धक पारेको अपत्यारिलो दाबी उहाँको छ।

    साउन १५ गते बिहान उपचारका लागि नेपालगञ्ज हिँड्न लागेकै बेला एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावतले आफ्नो घरमा आएर एमालेमा आउन दबाब दिएको तर आफूले नमानेपछि अपहरण गरेको उहाँको दाबी छ।

    साउन २० गते मुख्यमन्त्री निवासबाट आफू शौचालयको चप्पल लगाएर भाग्न सफल भएको पनि उहाँले बताउनुभयो।

    बुटवलस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै वलीले आफूलाई विज्ञप्ति पनि पढ्न नदिएरै एमाले नेताहरुले जबरजस्ती हस्ताक्षर गर्न लगाएको दाबी पनि गर्नुभयो।

    मुख्यमन्त्री पोखरेलले पनि आफूलाई एमालेमा आउन दबाब र प्रलोभन दिएको उहाँले बताउनुभयो।

    तर नेकपा एमालेले भने सांसद वलीले लगाएका सबै आरोपको खण्डन गरेको छ। पार्टीका प्रमुख सचेतक भूमिश्वर ढकालले वलीकै प्रस्तावअनुसार आफूले उहाँलाई मुख्यमन्त्री निवासमा पु¥याइएदिएको बताउनुभयो।

    दुई दिनअघि निकालिएको विज्ञप्तिमा वलीले आफ्नै राजीखुसीले हस्ताक्षर गरेको पनि उहाँको दाबी छ। मुख्यमन्त्री निवासमा बन्धक बनाइएको, जबरजस्ती हस्ताक्षर गराइएको लगायतका सबै आरोप वाहियात भएको उहाँले बताउनुभयो।

    अपहरणमा परेको भए मोबाइल साथमा रहेकै बेला एउटा सांसद जस्तो व्यक्तिले किन प्रहरी प्रशासन, आफन्त तथा सञ्चार माध्यममा खबर नगरेको भन्दै ढकालले प्रतिप्रश्न गर्नुभयो।

    वलीकै चाहना बमोजिम उहाँको परिवारका सदस्यहरुसहित आफूहरु दाङबाट बुटवलस्थित मुख्यमन्त्री निवासमा पुगेको उहाँले जिकिर गर्नुभयो।

    आफूलाई मुख्यमन्त्री निवासबाट बाहिर निस्कन नदिएको वलीको आरोपको पनि ढकालले खण्डन गर्नुभयो। उहाँले वलीको बसोबासको व्यवस्थापन बाहिरै गरिएको भए पनि उहाँकै इच्छा अनुसार मुख्यमन्त्री निवासमै राखिएको बताउनुभयो।

    आफूसँग रहेका परिवारका सदस्यहरुलाई वलीले तपाईँहरु जानुस् म उपयुक्त समय मिलाएर दाङ फर्कन्छु भनेर बिदा गरेको पनि ढकालले बताउनुभयो।

    यता प्रदेशसभा सदस्य वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको निर्देशन र एमाले प्रमुख सचेतक भूमिश्वर ढकालको प्रत्यक्ष संलग्नतामा घरबाटै अपहरणको शैलीमा मुख्यमन्त्री निवासमा ल्याएर ५ दिनसम्म बन्धक बनाएर राखेको भन्दै विपक्षी गठबन्धनले कानूनी उपचारको माग गरेको छ।

    गठबन्धनले घटनामा संलग्नलाई तत्काल कानूनी कठघरामा उपस्थित गराउन पनि माग गरेको छ ।


    बिहिवार, श्रावण २१ २०७८०७:५२:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij