काठमाडौं– उखु किसानको बक्यौता भुक्तानीको लागि गठन भएको कार्यदलको बैठक आज बस्दैछ । किसानले बक्यौता भुक्तानी नभए आगामी भदौ पाँच गतेदेखि आन्दोलन गर्ने चेतावनी दिएपछि पहिलो बैठक आज बस्न लागेको हो ।
तर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले आन्दोलनबारे मन्त्रालयलाई कुनै जानकारी नभएको बताउनुभएको छ । उहाँले आज कार्यदलको बैठक बस्न लागेको बैठकमा किसान प्रतिनिधिलाई बोलाइएको भने जानकारी दिनुभयो ।
कार्यदलको बैठकमा विभिन्न समस्या छलफल गर्न सकिने बताउदै उहाँले आजको बैठकमा प्रतिवेदनमाथि छलफल हुने पनि जानकारी दिनुभयो । तर आजको बैठकमा जाने कि नजाने बारे छलफल भइरहेको किसान प्रतिनिधि राकेश मिश्रले बताउनुभयो ।