काठमाडौँ – दार्चुलामा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटिदिएपछि महाकाली नदीमा खसेर नेपाली युवक बेपत्ता भएको घटनामा माफी माग्न भारतलाई नेपाली नेताहरुले चेतावनी दिएका छन् ।
नेपाल सरकारले पनि कुटनीतिक पहलमार्फत भारतलाई माफीका लागि बाध्य गराउनु पर्ने नेताहरुको माग छ ।
सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता नारयणकाजी श्रेष्ठले एसएसबीले तुइन काटिदिँदा नेपाली युवक बेपत्ता भएको घटनामा भारतले माफी माग्नैपर्ने बताउनुभयो ।
अन्यथा नेपाली जनताले आफै प्रतिकारमा उत्रिन बाध्य हुनुपर्ने अवस्था कुनै हालतमा उपयुक्त नहुने श्रेष्ठको चेतावनी छ ।
आज राष्ट्रियसभा बैठकमा बोल्दै श्रेष्ठले तुइन काटिँदा नेपाली युवक जयसिंह धामी बेपत्ता भएको घटना भारतीयको हेपाहा र मिचाहा व्यवहारको उदाहरण भएको बताउनुभयो ।
यस घटनामा भारतले नेपाल र नेपाली जनतासँग अविलम्व सार्वजनिक क्षमा याचना गर्न उहाँले माग गर्नुभयो । अन्यथा मानवताविरोधी कामकाविरुद्ध उर्लिएको भावनाको बाँध भत्केर आफै प्रतिवादमा आउने स्थिति कुनै पनि हालतमा उपयुक्त नहुने उहाँले चेतावनी दिनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद खिमलाल भट्टराईले पनि दार्चुला घटनामा भारतीय पक्षसँग वार्ता गर्न सरकारसँग माग गर्नुभयो ।
एसएसबीले तुइन काटिदिँदा भएको घटनामा पनि सरकार मौन बसेकामा उहाँले आपत्ति प्रकट गर्नुभयो ।
यस घटनाबारे प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना भारतीय समकक्षीसँग तत्काल वार्ता गर्न भट्टराईले माग गर्नुभयो ।
उहाँले प्रत्यक्षदर्शीहरुले एसएसबीले तुइन काटिदिँदा जयसिंह धामीको महाकालीमा खसेको बताइसक्दा पनि बुझ्न बाँकी के छ भन्दै सरकारलाई प्रश्न गर्नुभयो ।
सत्तारुढ र प्रतिपक्षी सांसदहरुले दार्चुला घटनामा भारतविरुद्ध प्रतिवाद गर्न माग गरिरहे पनि सरकारले भने छानबिन समितिको प्रतिवेदन आउँदासम्म धैर्य गर्न आग्रह गरेको छ ।
छानबिन समितिले अहिले काम गरिरहेको र उक्त समितिले तयार पार्ने प्रतिवेदनका आधारमा सरकारले अडान लिने गृहमन्त्री बालकृष्ण खाँणले बताइरहनुभएको छ ।
तर गृहमन्त्रीको अभिव्यक्ति निरीह भएको भन्दै विपक्षी सांसदहरुले आलोचना गरिरहेका छन् । यद्यपि कुटनीतिज्ञहरुले भने दार्चुला घटनामा गृहमन्त्रीको अभिव्यक्ति जायज रहेको बताएका छन् ।
भारतका लागि पूर्व नेपाली राजदूत डा. लोकराज बरालले घटनाको वास्तविकता स्थापित नगरेरै भारतलाई माफी माग भनेर नेताहरुले कुर्लनु शोभनीय नहुने बताउनुभयो ।
गएको शुक्रबार भारतीय एसएसबीले तुइन काटिदिएपछि ३३ वर्षीय नेपाली युवक महाकालीमा खसेर बेपत्ता छन् । प्रत्यक्षदर्शीहरुका अनुसार तुइन काटेर जयसिंह महाकालीमा खसेलगत्तै एसएसबीको टोली घटनास्थलबाट भागेको थियो ।
तर भारतीय पक्षले यस घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गर्दै वक्तव्य निकालेको छ । घटनाबारे गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले दार्चुला पुगेर अध्ययन गरिरहेको छ ।