काठमाडौं – नेकपा (माओवादी केन्द्र)को आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । अर्को सूचना जारी नभएसम्म बैठक स्थगित भएको पार्टी सचिवालयले जनाएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठक स्थगित गर्नुपर्ने भन्दै स्थायी कमिटी सदस्यहरुलाई जानकारी गराउनुभएको सचिवालयको भनाइ छ ।
अध्यक्ष प्रचण्डको कार्यव्यवस्थाका कारण बैठक स्थगित गरिएको प्रवक्ता जारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
माओवादी केन्द्रले आज दिउँसो ३ बजे बैठक राखी सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने योजना बनाएको थियो । काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव समूह, जसपा र राष्ट्रिय जनमोर्चाको समर्थनमा २९ असारमा प्रधानमन्त्री हुनुभएका शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएको छैन ।
देउवाले काँग्रेसबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाउनुभएको छ ।
त्यस्तै, माओवादी केन्द्रबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्री बनाउनुभएको थियो ।
साउन १० गते काँग्रेसबाट उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउनुभएको छ । तर प्रधानमन्त्री भएको २१ दिन वितिसक्दा पनि देउवाले मन्त्रिपरिषललाई पूर्णता सक्नुभएको छैन ।