Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माधव समूह सरकारमा सहभागी भए सांसद पद गुम्छ? के भन्छन् कानुनविद्?

माधव समूह सरकारमा सहभागी भए सांसद पद गुम्छ? के भन्छन् कानुनविद्?

  • बिहिवार, श्रावण १४ २०७८

  • 1.1K
    SHARES

  • माधव समूह सरकारमा सहभागी भए सांसद पद गुम्छ? के भन्छन् कानुनविद्?

    काठमाडौँ – सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा नेकपा एमालेको माधवकुमार नेपाल समूहभित्र मतभेद चुलिएको छ ।

    एकथरीले पार्टी एकता कायम गर्दै सरकारमा सहभागी हुन नहुने भनिरहेका छन् भने अर्काे थरीले आफैले निर्माण गरेको सरकारमा सहभागी भएर हिस्सा लिनुपर्ने दबाब बढाएका छन् ।

    समूहभित्रै नेताहरुबीच मतभेद चुलिएपछि सरकारबारे वरिष्ठ नेता माधवकुमार नेपालले हालसम्म कुनै निर्णय लिन सक्नुभएको छैन ।

    तर माधव समूहका केही सांसदहरुले अहिलेको अवस्थामा सरकारमा नजाने निर्णय समूहले लिइसकेको दाबी गरका छन् ।

    सांसद विरोध खतिवडाले तत्काल आफूहरु सरकारमा सहभागी नहुने निश्चित भएको संक्षिप्त प्रतिक्रिया दिनुभयो ।

    तर माधव समूहकै अर्का सांसद मेटमणि चौधरीले भने आफैले निर्माण गरेको सरकारमा सहभागी भएर हिस्सा लिनुपर्ने बताउनुभयो ।

    अहिले आफूहरु सरकारमा सहभागी भएपछि उत्पन्न हुने कानुनी जटिलताहरुबारे परामर्शमै रहेको उहाँले बताउनुभयो ।

    चुप लागेर बसेका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि आफूहरुले तयार पार्ने तर अहिले सरकारमा सहभागी हुँदैनौँ भन्न नमिल्ने उहाँले बताउनुभयो ।

    संसद र सरकारलाई बलियो बनाउन पनि आफूहरुको सरकारमा सहभागिता अपरिहार्य रहेको चौधरीको जिकिर छ ।

    चौधरीले आफूहरु परामर्शमै रहेको बताए पनि वरिष्ठ नेता माधवकुमार नेपालले देउवा सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको यसअघि नै प्रष्ट पारिसकेको कतिपय नेताहरुको दाबी छ ।

    माधव समूहभित्र रहेर पनि लाइन भन्दा फरक गतिविधिमा सक्रिय रहेको आरोप खेपिरहेका नेता भीम रावलले स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा वरिष्ठ नेता नेपालले सरकारमा सहभागी नहुने प्रष्ट बताइसकेको दाबी गर्नुभयो । अब आफूहरु गठबन्धनमा पनि नरहने नेता रावलको भनाइ छ ।

    आन्तरिक बैठकहरुमा सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे छलफल भए पनि नेता नेपालले सार्वजनिक रुपमा यसबारे केही बताउनुभएको छैन ।

    बरु उहाँले आज एक कार्यक्रममा प्रधानमन्त्री देउवालाई क्षमतावान सहयोद्धाहरुलाई लिएर काम गर्न सुझाव दिनुभयो ।

    प्रधानमन्त्री एक्लै सक्षम भएर नहुने बताउँदै उहाँले सहयोद्धाहरु पनि क्षमतावान छान्न देउवालाई सुझाव दिनुभयो ।

    सरकारमा सहभागी भए लाभको पदका लागि केपी ओलीसँग विद्रोह गरेको आरोप लाग्ने र अर्काेतिर पार्टीले कारबाही गरे सांसद पद पनि नरहने हो कि भन्ने भय पनि माधव समूहभित्र छ ।

    त्यसैले पनि सरकारमा सहभागी हुने कि नहुने भन्ने टुंगो लगाउन समय लागेको अनुमान पनि भैरहेको छ ।

    तर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भने माधव समूह सरकारमा सहभागी हुन कुनै कानुनी वाधा नरहेको दाबी गर्नुभयो ।

    संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार निर्माण प्रक्रियामा संलग्न सांसदहरुलाई कारबाही गर्न नमिल्ने सर्वाेच्चकै परमादेमा उल्लेख रहेको उहाँले बताउनुभयो ।

    माधव समूहले निर्णय लिन ढिलाई गर्दा देउवा सरकारले पूर्णता पाउन सकेको छैन ।

    गठबन्धनका नेताहरुले माधव समूहको साथ पाए मात्रै सरकार बलियो हुने भन्दै सरकारमा सहभागिताका लागि दबाब बढाएका छन् ।

    पछिल्लो समय समूहगत निर्णय नलिएर व्यक्तिगत रुपमा माधव समूहका सांसदहरुलाई सरकारमा सहभागी गराउने तयारी पनि चलिरहेको छ ।

    माधव समूह सरकारमा सहभागी हुन नमाने विभिन्न राजनीतिक नियुक्तीमा ठूलो भाग दिने गरी सत्ता सञ्चालन गर्ने तयारी पनि गठबन्धनले गरिरहेको छ ।


    बिहिवार, श्रावण १४ २०७८०७:४८:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij