काठमाडौं – नेकपा (माओवादी केन्द्र)को आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनको बैठकमा व्यस्त हुनुपर्ने भएकाले आजको बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभएको छ ।
यसअघि मंगलबार बसेको बैठकले आज ३ बजे पुनः बैठक बस्ने र माओवादीका तर्फबाट मन्त्री बन्ने नेताहरुको नाम टुंग्याउने निर्णय गरेको थियो ।
यसैबीच, सत्तापक्षका शीर्ष नेताहरुको बैठकले सकिएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी गरेको छ ।
शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने निर्णय भएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभएको छ । आजको बैठकबाट तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको र अब धेरै समय कुर्नुनपर्ने उहाँको भनाइ थियो ।