काठमाडौँ – निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षलाई नयाँ दल दर्ताका लागि आह्वान गरेको छ ।
जसपाको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिने फैसला गर्दै आयोगले ठाकुर समूहलाई नयाँ दल दर्ताका लागि अवसर दिएको छ । तर नयाँ दल दर्ता गर्दा सांसद पद गुम्ने–नगुम्नेबारे आयोग मौन बसेको छ ।
केन्द्रीय कार्यकारिणी परिषदका ५१ जना सदस्यमध्ये ३४ जना यादवको पक्षमा उभिएकाले उक्त पक्षलाई आधिकाकिरता दिएर ठाकुर समूहलाई नयाँ दल दर्ताका लागि आह्वान गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
जसपाका ५१ जना कार्यकारिणी सदस्य मध्ये आयोगले सनाखतका लागि बोलाउँदा ३४ जनाले उपेन्द्र यादव समूहमा र १६ जनाले महन्थ ठाकुर समूहमा मत जाहेर गरेका छन् । जेलमा रहेका रेशम चौधरी भने तटस्थ बसेका छन् ।
आयोगले बहुमत सदस्यले गरेको सनाखतका आधारमा उपेन्द्र समूहलाई आधिकारिकता दिएको हो । ठाकुर पक्ष नयाँ दल दर्ता गर्न आएमा छुट्टै राजनीतिक दलका रुपमा मान्यता दिने ठहर आयोगले गरेको छ ।
तर, उपेन्द्र यादव पक्षमा नरहेका सांसदले जसपा छाडेमा उनीहरुलाई कारबाही गर्न राजनीतिक दल सम्बन्धी ऐन आकिर्षत हुने–नहुने बारे भने भने आयोगको फैसला मौन छ । अन्य कुरामा आयोगको धेरै भूमिका नहुने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
छुट्टै दल दर्ता गरेको अवस्थामा दल त्याग आकर्षित हुने कि नहुने भन्नेबारे आयोगको फैसलामा उल्लेख नभएपछि जसपाको ठाकुर पक्ष अन्यौलमा परेको छ ।
तर ठाकुर समूहका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरु कत्ति पनि विचलित नभएको प्रतिक्रिया दिनुभयो । प्राविधिक विभाजनबाट कुनै असर नपर्ने उहाँले बताउनुभयो ।
माग मुद्दाका आधारमा ओली सरकारलाई समर्थन गरे पनि प्रतिगमनकारी भएर निस्केको उहाँले बताउनुभयो । महतोले ओली र देउवा सरकारमा कुनै भिन्नता नरहेको पनि जिकिर गर्नुभयो ।
महतोले राजनीतिक रुपमा पतन भैरहेका उपेन्द्र यादवसँग एकता गरेर आफूहरुले मद्दद गरेको तर बदलमा अहिलेको अवस्था श्रृजना भएको बताउनुभयो ।
तर अहिले उपेन्द्र यादवसँग जुटेको बहुमत भोलि आफूहरुतिर नै आउने उहाँले दाबी गर्नुभयो । पद जोगाउन केही नेताहरुले आफूहरुको साथ छाडेको विषयलाई मिडियाले पनि बुझिदिन पर्ने उहाँले बताउनभुयो ।
पार्टीको आन्तरिक संघर्षमा ठाकुर पक्षलाई पछारेर विजयी भएको उपेन्द्र यादव समूहले भने गल्ती सुधारेर पार्टीमा फर्कनेहरुका लागि ढोका बन्द नगर्ने जनाएको छ ।
अध्यक्ष उपेन्द्र यादवले गलत बाटोमा हिँडेकाहरु सही मार्ग समातेर फर्के ढोका बन्द नगर्ने बताउनुभयो ।
एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको सरकारलाई सहयोग गर्ने कि संसद विघटनको विपक्षमा उभिएको गठबन्धनलाई साथ दिने भन्नेबिन्दुबाट जसपामा विग्रह सुरु भएको हो ।
उतिबेला विपक्षी गठबन्धनबाट बरु प्रधानमन्त्री बनेर भए पनि संसद विघटनका विरुद्ध उभिन गरिएको प्रस्ताव अस्वीकार गर्दै ठाकुरले ओलीलाई साथ दिनुभएको थियो।
तर सत्ता यसरी पल्टियो कि ठाकुरका लागि मधेशबाट पहिलो प्रधानमन्त्री बन्ने अवसर मात्रै हैन भएको पार्टी जसपाबाट समेत पछारिएर विस्थापित हुनुपर्ने अवस्था आइलागेको छ ।