Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

ढुंगा–गिट्टी निकाल्न ३५ वर्षसम्म सेती थुन्ने योजना

ढुंगा–गिट्टी निकाल्न ३५ वर्षसम्म सेती थुन्ने योजना

  • सोमवार, श्रावण ११ २०७८

  • 1.0K
    SHARES

  • ढुंगा–गिट्टी निकाल्न ३५ वर्षसम्म सेती थुन्ने योजना

    पोखरा : पोखराका अमूल्य सम्पदा फेवाताल, सेती खोंच, डेभिज फल्स र रामघाटको दोहन अब निजी कम्पनीले गर्ने भएका छन् । सेतीको रामघाट र मोरेखरेमा बाँध बनाएर ३५ वर्षसम्म ढुंगा, गिट्टी निकाल्न महानगरले निजी कम्पनीसँग सम्झौता गर्दै छ । त्यस्तै सेती खोंच र डेभिज फल्स पनि ४० वर्षका लागि निजी कम्पनीलाई दिने तयारी छ ।

    प्राकृतिक स्रोत दोहन गर्न निजी कम्पनीले तयार गरेको प्रस्तावअनुसार महानगरले सार्वजनिक–निजी साझेदारी ऐन र नियमावली, २०७५ बनाएको थियो । यही ऐन र नियमावली दुरुपयोग गर्दै पोखराका प्रमुख प्राकृतिक सम्पदा निजी कम्पनीको जिम्मा लगाउने तयारी भएको हो ।

    सेती खोंचमा साहसिक पर्यटन पूर्वाधार र डेभिज फल्स (पातले छाँगो) मा सिसाको पुल निर्माणको योजना स्थानीय पस्मिना व्यापारी कर्केनकुमार गुरुङले बनाएका हुन् । यसका लागि उनले पोखरा महानगरका प्रमुख र तत्कालीन प्रशासकीय अधिकृतलाई ३ वर्षअघि नै सहमत गराएका थिए ।

    त्यति नै बेला पोखराको व्यापारिक घराना बतास अर्गनाइजेसनले रामघाटमा स्थायी बाँध बनाउने र सेतीको बहाव थुनेर ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्ने योजना पेस गरेको थियो । बताससँगै मिसिएका अर्का व्यवसायी विजय भट्टराईले सेती र विजयपुर खोलाको दोभानदेखि केही तल मोरेखरेमा बाँध बाँधेर ढुंगा, गिट्टी, बालुवा निकाल्ने योजना बनाए । उनैले फेवातालमाथि त्रुज भेसल चलाउने प्रस्ताव पनि राखे ।

    प्राकृतिक स्रोत यसरी निजी कम्पनीलाई दिन कानुन नै बाधक भएकाले योजनाबद्ध रूपमा महानगरले सार्वजनिक–निजी साझेदारी (सानिसा) ऐन बनाएको हो । कर्केन, बतास र भट्टराईको योजना सफल बनाउन महानगरले सानिसाअन्तर्गत पहिलोपल्ट २०७५ फागुन २० मा नै विभिन्न ५ योजनामा मनसायपत्र आह्वान गर्दै स्थानीय पत्रिकामा सूचना निकाल्यो ।

    सराङकोटमा पर्यटन पूर्वाधार विकास आयोजनाको पनि तयारी थियो तर स्थानीयको विरोध भएको भन्दै महानगरले रद्द ग¥यो । बेगनास तालमा वाटर स्पोर्ट्स सञ्चालन गर्न प्रस्तुत मनसायपत्र मापदण्ड नपुगेको भन्दै अस्वीकृत भयो, त्यस्तै महानगर क्षेत्रभित्र डिजिटल होर्डिङ बोर्ड व्यवस्थापन कार्यमा पनि प्रगति भएन । तर, डेभिज फल्स र सेती खोंचमा पर्यटन पूर्वाधार बनाउने तथा रामघाट र मोरेखरेमा बाँध बनाएर ढुंगा, गिट्टी निकाल्ने योजना भने अघि बढेका छन् ।

    यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।


    सोमवार, श्रावण ११ २०७८०७:०४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij