काठमाडौँ – फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनुलाई अक्षम्य अपराधको संज्ञा दिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गर्नुभएको छ ।
पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा ओलीले भन्नुभयो, ‘ बाटो बिराएका भड्किएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड ।’
उहाँले अगाडि भन्नुभयो, ‘जे सुकै भएको होस्, एम्नेष्टी । आउनुस् मिलेर काम गरौँ।’
झण्डै एक घण्टा लामो सम्बोधन गर्नुभएका ओलीले एमालेलाई कसैले रोक्न नसक्ने बताउनुभयो। पुष्पलालले रोपेको र मदन भण्डारीले स्याहार सुसार र प्रवलीकरण गरेको भन्दै उहाँले भन्नुभयो, ‘यो कर्कलोको पातको पानी होइन, कसैले हल्लाउँदैमा भुँइमा खस्छ।’
निवर्तमान प्रधानमन्त्री समेत रहनुभएक ओलीले आफ्नो पार्टी नेतृत्वको सरकार ढाल्न दुनियाँ लाग्दा पनि खुट्टा समेत हल्लाउन नसकेपछि अदालतको परमादेशबाट हराइएको बताउनुभयो।
त्यसका बाबजुद एमाले स्थानीय तह, प्रदेश र संघीय संसदमा प्रमुख शक्ति रहेको भन्दै उहाँले भन्नुभयो, ‘देशको प्रमुख राजनीतिक शक्ति हो, लोकतान्त्रिक आन्दोलनको प्रमुख राजनीतिक धार हो।’
ओलीले अब विवाद छाडेर पार्टी एकताको कुरा गर्न पनि आह्वान गर्नुभयो। ‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ,’ उहाँले भन्नुभयो, ‘अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ।’
तत्कालीन नेकपा रहँदा साधारण सदस्यबाटै आफूलाई निस्कासन गरिएको स्मरण गर्दै ओलीले भन्नुभयो, ‘अब त्यो बाटोमा नजाऊँ, हामी सबै एकसाथ अघि बढौँ।’