काठमाडौं – नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले ३० लाख रुपैयाँ निकासा गरेको छ ।
दुबै मिर्गौलामा समस्या देखिएपछि उपचारका लागि भारतको दिल्ली जानुभएका पूर्वप्रधानमन्त्री खनाल अहिले एपोलो अस्पतालमा उपचाररत हुनुहुन्छ । एमाले नेताहरुका अनुसार उहाँको मिर्गौला प्रत्यारोपण गरिनेछ ।
यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको थियो ।
अर्थ मन्त्रालय उच्च स्रोतका अनुसार दिल्लीस्थित नेपाल दूतावासले परराष्ट्र मन्त्रालयमार्फत खनालको उपचारका लागि करिब ३० लाखको हिसाब पठाएको थियो । एमाले उपमहासचिव विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री रहँदा नै योे रकम निकासा भइसकेको छ ।
पूर्वप्रधानमन्त्री खनाललाई सरकारले उपचार खर्च दिएकोप्रति अहिले सर्वत्र विरोध भइरहेको छ ।
विरोध गर्नेमा सत्तारुढ नेपाली कांग्रेसकै युवा नेता गगन थापा पनि हुनुहुन्छ । अघिल्लो सरकारले कानूनविपरीत गरेको निर्णयको भारी वर्तमान् शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि बोकेको भन्दै थापाले बुधबार नै यसको विरोध गर्नुभएको थियो । यसका बाबजुद आज सरकारले रकम निकाशा गरेको छ ।

‘२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा हाम्रै पहल र संशोधनमा’’ प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपरेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन“ भन्ने व्यवस्था छ र उक्त कानून २०७५-६-२ गतेदेखि लागु भइसकेको छ’, उहाँले भन्नुभएको थियो, ‘यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन ।’
पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी रहेको पनि स्पष्ट पार्नुभएको थियो ।
‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू, अतः कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो’, उहाँले बुधबार सामाजिक सञ्जालमा लेख्नुभएको थियो ।
यस्तो थियो थापाको भनाइ :
