काठमाडौँ - नेकपा एमालेको माधव नेपाल पक्षले नेताविरुद्धका उत्तेजक नारावाजी रोकेर पार्टी एकताका काममा लाग्न अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ।
माधवकुमार नेपालसहितका नेताहरुविरुद्ध भइरहेको नाराबाजी रोकेर एकताका लागि गम्भीरताका साथ प्रयास गर्न बैठकले आग्रह गरेको हो।
आइतबार नेता नेपालसहित २२ सांसदले फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएपछि नेता नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको पहिलो बैठक बुधबार बसेको थियो ।
बैठकमा उपाध्यक्ष भीम रावल भने अनुपस्थित थिए ।
बैठकले गरेको निर्णय सुनाउँदै नेता रघुजी पन्तले भन्नुभयो, ‘एकता वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थामा स्पष्टीकरण सोध्ने, वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नारावाजी गर्ने एवम् पुत्ला जलाउने र सर्वोच्च अदालतले आफ्नो विवेकको प्रयोग गर्न स्वतन्त्र रहेको आदेश दिएको अवस्थामा उनीहरूविरुद्ध उत्तेजक गतिविधि र नारावाजी गर्ने काम तत्काल रोकिनुपर्छ । यस्ता गलत र उत्तेजक कार्यविरुद्ध खेद व्यक्त गर्दै यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताका कामलाई गम्भीरताका साथ अगाडि बढाउन यो बैठक पार्टी अध्यक्ष कमरेडको ध्यानाकर्षण गराउँछ ।’
आजको बैठकले पार्टी एकताका पक्षमा जोड दिएको उहाँले जानकारी दिनुभयो । ‘हामी छलफलमा बस्यौँ,’ पन्तले भन्नुभयो, ‘सबैको जोड एकतामा थियो । एकता प्रक्रियालाई जोड दिनुपर्छ भन्नेमा सबैको सहमति रह्यो।’
एकता वार्ता चलिरहेका बेलामा फेरि स्पष्टीकरण सोध्नु एकता प्रक्रियामा भाँजो हाल्नु भएको उहाँको भनाइ छ । एमालले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई हिजोको मितिमा आज स्पष्टीकरण पत्र पठाएको छ ।
विपक्षी गठबन्धनमा लागेर पार्टी अनुशासन उल्लंघन गरिएको उल्लेख गरिएको पत्रमा २४ घण्टाभित्र स्पष्टीकरण चित्तबुझ्दो नदिएमा साधारण सदस्यलगायत पार्टीको जिम्मेवारीबाट निष्कासन किन नगर्ने? भनी सोधिएको छ ।