काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले हिजो साउन ३१ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेपछि तालिका सार्वजनिक भएको हो । परीक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ ।
विद्यार्थीहरूले आफूले अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् । गत जेठ २६ गतेदेखि सुरु गर्ने तय भएको परीक्षा कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण लगाइएको निषेधाज्ञाले गर्दा स्थगित भएको थियो । यस वर्ष सय पूर्णाङ्क रहनेगरी नै परीक्षा भौतिक उपस्थितिमा गर्ने बोर्डले निर्णय गरेको हो ।
गत वर्ष बोर्डले ४० प्रतिशतका लागि परीक्षा लिएर बाँकी ४० प्रतिशत कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कनको आधारमा परीक्षा लिएको थियो ।

