काठमाडौँ – नेकपा एमालेको संस्थापन समूहका नेताहरुले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी परित्याग गरेर जान चेतावनी दिएका छन् ।
अब माधवकुमार नेपाल र नेकपा एमाले सँगै हिँड्न नसक्ने घोषणा गर्दै उनीहरुले पार्टी त्यागेर गए राम्रो हुने बताएका हुन् ।
उनीहरुले एमाले छाडेर अघि बढे माधव नेपाललाई पुत्ला जलाएर नभइ ससम्मान बिदाई गरिने पनि उद्घोष गरेका छन् ।
अध्यक्ष केपी ओलीका विश्वास पात्र मानिने नेताहरु गोकुल बाँस्कोटा र महेश बस्नेतले माधव नेपाललाई अब एमालेमा राख्न नसकिने अभिव्यक्ति एकैदिन दिएका हुन् ।
आज बिहान नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै नेता गोेकुल बाँस्कोटाले माधव नेपाल र एमाले पार्टी अब सँगै रहन नसक्ने कुरा स्पष्ट भैसकेको घोषणा गर्नुभयो ।
उहाँले माधव नेपाल र एमाले पार्टीलाई सँगै हिँडाउन नसकिने प्रष्ट भैसकेको जिकिर गर्नुभयो ।
यसअघि प्रधानमन्त्रीबाट बर्खास्त भएपछि बालुवाटार छाडेर बालकोट सर्ने क्रममा अध्यक्ष ओलीले माधव नेपाललाई गद्दारको संज्ञा दिँदै उहाँलाई एमालेमा स्थान नरहने घोषणा गर्नुभएको थियो ।
माधव नेपालको पछि लागेकाहरुलाई गल्ती सुधारेर आए पार्टीमा रहने मौका दिन सकिने भए पनि नेता नेपाललाई भने कुनै हालतमा स्वीकार गर्न नसकिने ओलीको भनाई थियो ।
केपी ओलीले माधव नेपाललाई गद्दारको संज्ञा दिँदै आक्रमण गरे पनि एकताका लागि दोस्रो तहका नेताहरुबीच प्रयास जारी नै थियो ।
तर अब त ओलीका विश्वासपात्र मानिने नेताहरु समेत माधव नेपाललाई पार्टीबाटै लखेट्नुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिन थालेका हुन् । यी गतिविधि अध्यक्ष ओलीकै निर्देशनमा भैरहेको माधव समूहका नेताहरुको अनुमान छ ।
गोकुल बाँस्कोटाले एमाले र माधव नेपाल सँगै रहन नसक्ने बताएकै दिन आज ओली समूहका अर्का युवा नेता महेश बस्नेतले पनि वरिष्ठ नेता नेपाललाई एमाले छाडेर जान चेतावनी दिनुभयो ।
एमाले छाडेर गए पुत्ला जलाएर नभई ससम्मान बिदाई गर्ने उहाँले घोषणा गर्नुभयो ।
तर माधव समूहका नेताहरुले भने एमाले पार्टी केपी ओलीको विरता नभएको बताएका छन् । उनीहरुले लाखौँ नेता कार्यकर्ताहरुको रगत पसिनाले बनेको पार्टीमा कसैलाई राख्छु र कसैलाई निकाल्छु भन्ने प्रवृत्तिकैविरुद्ध आफूहरु लडाईँमा रहेको बताएका छन् ।
माधव समूहमा रहेका सांसद झपट रावलले केपी ओलीले माधव नेपाललाई एमालेमा ठाउँ छैन भनेर घोषणा गर्नुको कुनै अर्थ नरहने बताउनुभयो ।
तर एमाले मिलाउन प्रयास गरिरहेको दोस्रो तहका नेताहरुले भने विभाजनकारी गतिविधि नगर्न दुवै समूहका नेताहरुलाई आग्रह गरेका छन् ।
माधव नेपाल र केपी ओलीलाई आफूहरुले दिएको सम्मान एमाले विभाजनको लाइसेन्स नरहको नेता गोकर्ण विष्टले बताउनुभयो ।
एमाले पार्टी निर्माण हुनुमा केपी ओली र माधव नेपालको मात्रै योगदान नरहेको उहाँले बताउनुभयो ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय अलपत्र परेको छ ।
हिजो बसेको केन्द्रीय कमिटी बैठकले देउवालाई विश्वासको मत दिने २२ सासदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
तर यो समाचार तयार पार्दासम्म कुनै पनि सांसदहरुले स्प्ष्टीकरण पत्र पाएका छैनन्।