काठमाडौँ – आज तुलसी रोप्ने दिन अर्थात हरिशयनी एकादशी । यो पर्व प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन पर्छ । यो दिन घर–घरमा तुलसीको बिरुवा रोपेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिन्छ । आज अधिकांश हिन्दू धर्मावलम्बीले तुलसीको बिरुवा रोपेर यो दिन मनाए ।
यसैबीच, प्रधानमन्त्रीपत्नी डा. आरजु राणा देउवाले पनि आज प्रधानमन्त्री निवास बालुवाटारमा तुलसीको बिरुवा रोपेर हरिशयनी एकादशी मनाउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमा तस्बिर राख्दै यसको जानकारी दिनुभएको हो ।

‘जय तुलसी माता ! आज हरिशयनी एकादशीको पर्वमा प्रधानमन्त्री निवासमा तुलसी रोपेर माताको आशीर्वाद लिइयो’, उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘हरिशयनी एकादशीको मंगलमय शुभकामना !’

तस्बिरमा कांग्रेस नेतृसमेत रहेकी देउवाले तुलसीको मठको पूजा गरिहेको देख्न सकिन्छ ।

तुलसीको बिरुवा रोपेर प्रधानमन्त्री पत्नीले धर्म–संस्कृतिको संरक्षण गरेको भन्दै अधिकांश फेसबुक प्रयोगकर्ताले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
तर, केहीले भने धर्मनिरपेक्ष देशका प्रधानमन्त्रीकी पत्नीले हिन्दूधर्मलाई प्रश्रय दिएको आरोप लगाएका छन् ।
