काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकले संसदीय दलको विधान पारित गरेको छ । आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले विधान सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा संसदीय दलको नेता चयन, सरकार गठन लगायतको विषयमा पनि छलफल गरेको प्रतिनिधिसभा सदस्य एवं कार्यकारिणी सदस्य महेन्द्र राय यादवले जानकारी दिनुभयो । उहाँका अनुसार अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउने छ ।
उता, जसपा महन्थ ठाकुरको पक्षले यसअघि नै संसदीय दलको नेता राजेन्द्र महतोलाई बनाएको थियो । बहुमत प्रतिनिधिसभा सदस्यको हस्ताक्षरबाट महतोलाई संसदीय दलको नेता बनाइएको दावी गरिँदै आएको छ । जसलाई उपेन्द्र यादव पक्षले विरोध गर्दै आएको छ । जसपाको विवाद अहिले निर्वाचन आयोगमा पनि विचाराधीन छ ।