काठमाडौँ – नेकपा एमालेले सर्वाेच्च अदालतको फैसलाको अवज्ञा गर्दै पार्टीका सांसदहरुलाई कारबाहीको तयारी गरेको छ ।
धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीले विश्वासको मत लिँदा सांसदहरुलाई ह्वीप लगाउन नपाइने र मतदान गरेकै आधारमा कारबाही पनि गर्न नपाइने सर्वाेच्चको फैसलाविरुद्ध एमालेले २२ जना सांसदलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत माग्दा एमालेले विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो । तर एमालेका २२ जना सांसदले पार्टी निर्णय विपरीत देउवालाई विश्वासको मत दिएका थिए ।
आज बसेको एमाले केन्द्रीय कमिटी बैठकले २२ जना सांसदले पार्टीविरुद्ध गद्दारी गरेको ठहर गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता पदीप ज्ञवालीले जानकारी दिनुभयो ।
एमाले महासचिव ईश्वर पोखरेलले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टीका केही नेताहरुले अक्षम्य अपराध गरेको टिप्पणी गर्नुभयो ।
उहाँले यो घटनामा संलग्न एमालेका सांसदहरुलाई माफी दिन नसकिने बताउनुभयो । पार्टीको राजनीतिक, र सांगठनिक जीवनमा अक्षम्य अपराधको कोटीमा पर्ने यो विषयलाई गम्भीर रुपमा लिएको उहाँले बताउनुभयो ।
यता कानुनविदहरुले भने एमाले नेतृत्वले फेरि पनि अदालतको अवहेलना गरेको बताएका छन् । सर्वाेच्च अदालतले स्पष्टसँग धारा ७६ को ५ अनुसारको प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा सांसदहरु स्वतन्त्र हुने भएकाले मतदान गरेका आधारमा कारबाही नगर्नु भनेर किटान गर्दा पनि त्यसविपरीत स्पष्टीकरण सोधिनु अदालतको मानहानी ठहरिने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताउनुभयो ।
संविधान मिचेर अगाडि बढ्दा खोज्दा सत्ताबाट सडकमा झर्नुपरेको यथार्तबाट पनि एमाले नेतृत्वले पाठ सिक्न नसकेको उहाँले टिप्पणी गर्नभयो ।
केपी ओलीहरुलाई अहिले पनि आफूहरु नै सर्वशक्तिमान रहेको लागिरहेको उहाँको टिप्पणी छ । त्रिपाठीले अदालतको फैसलालाई एमालेले नोटिसमा पनि नलिएको आरोप लगाउनुभयो ।
यता एमालेको माधवकुमार नेपाल समूहले भने आफूहरुलाई स्पष्टीकरण सोधेर कारबाही गर्ने निर्णय भए मानहानीको मुद्दा हाल्ने चेतावनी दिएको छ ।
माधव समूहमा रहेकी सांसद रामकुमारी झाक्रीले अवैधानिक कमिटीले सोधेको स्पष्टीकरणको अर्थ पनि नरहने बताउनुभयो ।
स्पष्टीकरणको जवाफ आफूहरुले नदिने र प्रधानमन्त्रीलाई विश्वासको मत दिएकै आधारमा कारबाहीको निर्णय भए मानहानीको मुद्दा लिएर अदालत जाने उहाँले बताउनुभयो ।
तर आफूहरुलाई कारबाही गर्ने धृष्टता अब ओलीले गर्लान् भन्ने आफूलाई नलागेको पनि झाक्रीले बताउनुभयो ।
झण्डै दुई तिहाई बहुमतसहित प्रधानमन्त्रीको सिंहासनमा उक्ले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवादलाई मिलाउन नसक्दा अहिले कांग्रेसलाई सत्ता सुम्पेर सडकमा ओर्लनु परेको छ ।
भएको शक्तिलाई सन्तुलन गरेर राख्न नसक्दा सत्ताबाट सडकमा झर्नुपरेको यथार्त बुझेर एकताको प्रयास गर्नुको साटो एमाले नेतृत्व फेरि पनि अहंकार र दम्भमै रुमल्लिएको देख्दा कार्यकर्ताहरु निराश बनेका छन्।