काठमाडौँ – प्रधानमन्त्रीमा शेरबहादुर देउवा निवार्चित भएपछि मुलुकको राजनीति अहिले मुलतः दुईवटा प्रश्नले घेरिएको छ।
एक अब देउवाले विश्वासको मत पाउने कि नपाउने
र अर्काे सबैभन्दा ठूलो दल एमाले र मधेशवादी दल जसपामा एकता कायम हुने कि नहुने ?
यी दुई प्रश्नको जवाफ समयले जसरी पेश गर्नेछ त्यसरी नै मुलुकको राजनीति अघि बढ्ने छ । यी दुई प्रश्नका जवाफहरु समयले कस्तो देला त्यसका केही संकेतहरु भने देखा पर्न थालिसकेका छन् ।
नेपाली कांग्रेसले आफ्ना सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा विश्वासको मत पाउने दाबी गरेको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाश शरण महतले यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालतमा बुझाइएको सांसदहरुको हस्ताक्षर संख्या विश्वासको मत लिँदा बढ्न सक्ने तर नघट्ने दाबी गर्नुभयो ।
माधव समूहबाट धोका नहुने र जसपाबाट साथ दिने सांसदहरुको संख्या बढ्न सक्ने उहाँको विश्वास छ ।
हुन त नेकपा एमालेले देउवा नेतृत्वको सरकारलाई साथ नदिने औपचारिक निर्णय हिजो गरिसकेको छ । स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिने र परामादेशबाट ओली सरकार ढाल्ने अदालतको फैसलाविरुद्ध भण्डाफोर अभियान चलाउने निर्णय सार्वजनिक गरेको थियो ।
तर एमालेको माधव समूहका नेताहरुले भने देउवालाई विश्वासको मत दिने ठाउँबाट आफूहरु दायाँबायाँ हुन नसक्ने बताइरहेका छन् ।
माधव समूहका नेता जगन्नाथा खतिवडाले देउवालाई विश्वासको मत दिन सांसदहरु स्वतन्त्र रहेकोले दलको निर्णयले कुनै अर्थ नराख्ने बताउनुभयो ।
संविधानको रक्षाका लागि आफूहरुले देउवालाई विश्वासको मत दिने र गुण र दोषका आधारमा सरकारको मुल्याङ्कन गर्ने उहाँले बताउनुभयो ।
एमालेको ओली समूहका कतिपय नेताहरुले भने पार्टीमा एकता कायम गरेर देउवा सरकारलाई २९ दिनमै विस्थापित गर्न सकिने तर्क पेश गरिरहेका छन् ।
माधव समूह छाडेर ओली समूहमा भित्रिएका नेता विष्णु रिजालले एमाले एक भए एमालेकै सरकार बन्न सक्ने ठाउँ रहेको जिकिर गर्नुभयो । संविधानको धारा एक पटक मात्रै प्रयोग गर्नुपर्छ भन्ने व्यवस्था नरहेको उहाँको जिकिर छ ।
देउवाले विश्वासको मत लिन नसक्नासाथ प्रतिनिधिसभा विघटन नहुने र यदि अर्को कुनै सदस्यले बहुमत पु¥याएर राष्ट्रपतिसमक्ष दाबी गर्न सकेमा त्यसको लागि मौका दिनुपर्ने उहाँको तर्छ छ । तर संविधानविद हरिहर दाहालले भने अब देउवा बाहेकको अर्काे सरकार बन्ने विकल्प बाँकी नरहेको बताउनुभयो ।
देउवाले विश्वासको मत पाए प्रतिनिधिसभाले पूरा आयू बाँच्ने र त्यसपछि मुलुक निर्वाचनमा जाने तर विश्वाको मत प्राप्त गर्न नसके प्रतिनिधिसभा भंग भएर ६ महिनाभित्रै निवार्चन गर्नुपर्ने विकल्प मात्रै अब बाँकी रहेको उहाँले बताउनभुयो ।
समग्रमा हेर्दा अहिले नेपालको राजनीति एमालेको माधवकुमार नेपाल समूहले लिने निर्णयका वरिपरि घुमेको छ । ओली सत्ताबाट बर्खास्त भएसँगै माधव समूह थप शक्तिशाली समेत बनेको छ ।
नेपाल निवास शक्तिकेन्द्र बनेसँगै त्यहाँ राजनीतिक चहलपहल पनि बढेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर आफ्नै दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट झार्न सफल भएपछि माधन नेपालको शक्ति एकाएक बढेको हो।