काठमाडौं । सर्वोच्च अदालतको फैसलाविरुद्ध आन्दोलन घोषणा गर्नु एमालेका लागि घातक हुने एमालेकै नेताहरुले बताएका छन् । लोकतन्त्र, संविधान र विधिको शासन मान्छु भन्नेहरुले अदालतको फैसला विरुद्ध आन्दोलन गर्नु उल्टो हुने एमालेकै नेता जगन्ननाथ खतिवडाको भनाई छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले भन्नुभयो, लोकतान्त्रीक पार्टीले अदालतको फैसलाका विरुद्धमा आन्दोलन गर्न मिल्दैन, यसले एमालेलाई कलंकीत बनाउछ ।
नेता खतिवडाले ओली नेतृत्वको सरकार हुँदा एमालेको सरकार भएजस्तो अनुभूती कहिल्यै नभएको दावी गर्नुभयो ।
आफ्नै सरकारका विरुद्धमा लागेको आरोप खेपिरहेको माधव नेपाल पक्षले ओली सरकार आफुहरुको जस्तो कहिल्यै नभएको दावी गरेको हो ।
एकातिर सरकार आफ्नो जस्तो नलागेको र अर्कोतिर लोकतन्त्र र संविधानको दिनप्रति दिन हुर्मत लिने काम ओलीले गरिरहेकाले त्यसको विकल्प खोजनु परेको उहाँको भनाई छ ।
लोकतन्त्र र संविधान जोगाउनका लागि आफुहरुले ओलीलाई हटाउन बाध्य भएको नेता खतिवडाले स्पष्ट पार्नुभयो ।
ओलीलाई सरकारमा जति त्यति एमाले बदनाम हुने र लोकतन्त्र र संविधान मासिने भएकाले ओलीलाई अटाइएको उहाँले जानकारी दिनुभयो ।