Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

यस्तो छ नवनियुक्त प्रधानमन्त्री देउवाको जीवनी (फोटो फिचरसहित)

यस्तो छ नवनियुक्त प्रधानमन्त्री देउवाको जीवनी (फोटो फिचरसहित)

  • बुधवार, आषाढ ३० २०७८

  • 3.0K
    SHARES

  • यस्तो छ नवनियुक्त प्रधानमन्त्री देउवाको जीवनी (फोटो फिचरसहित)

    काठमाडौं – नेपाली काँग्रेसका सभापति सभापति शेरबहादुर देउवा मंगलबार मात्रै पाचौंपटक प्रधानमन्त्री बने । यसअघि उनी विसं. २०५२, २०५८, २०६१ र २०७४ सालमा प्रधानमन्त्री बनिसकेका थिए ।

    deuwa2.jpg

    काँग्रेस संसदीय दलका नेता देउवाको जन्म २००४ जेठ ३० गते रुवाखोला असिग्राम–५ डडेल्धुरामा भएको हो ।

    हाल उनी बूढानीलकण्ठ नगरपालिका–१ भद्रकालीमा बसोबास गर्दै आएका छन् ।

    बाल्यकालदेखि नै राजनीतिमा चासो राख्ने नवनिर्र्वाचित संसदीय दलका नेता देउवा पार्टी संस्थापक नेता बिपी कोइरालाको राजनीतिक प्रेरणाबाट सक्रिय विद्यार्थी राजनीतिमा होमिएका हुन् ।

    Sher-2.jpg

    विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा प्रथम जननिर्वाचित सरकार अपदस्थ गरिएपछि नेता देउवा काँग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेपाल विद्यार्थी सङ्घका संस्थापक सभापति हुन् ।

    त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा पनि स्नातक देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन् ।

    पिता प्रसादसिंह देउवा र माता द्रौपतीदेवी देउवाका जेठा छोरा सभापति देउवाको एक छोरा हुन् । उनको नाम जयवीरसिंह देउवा हो । उनकी धर्मपत्नी डा. आरजु राणा देउवा पनि कांग्रेस राजनीतिमै छिन् ।

    202684754_1257038888100109_7326617626455219292_n.jpg

    नेता देउवा विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा एउटै निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट अधिक मतान्तरमा निर्वाचित भए ।

    विसं २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा पनि डडेल्धुरा र कञ्चनपुर जिल्लाको क्षेत्र नं ५ बाट विजयी देउवाले विसं २०४८ देखि २०५१ सम्म गृहमन्त्री एवम् तीनपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

    यसअघि विसं २०५१ मा भएको मध्यावधि चुनावपछि उनी पहिलोपटक काँग्रेस संसदीय दलको नेता निर्वाचित भएका थिए । विसं २०५१ मा नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा गठित पहिलो कम्युनिस्ट सरकार विसं २०५२ मा ढलेपछि उनी पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए । विसं २०५८ मा दोस्रोपटक प्रधानमन्त्री भएका देउवा २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रबाट चुनाव गराउन असक्षम भनी प्रधानमन्त्री पदबाट बर्खास्त भएका थिए ।

    Cr-PoevVMAAZAdz.jpg

    बर्खास्त भएको दुई वर्षपछि २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रबाट पुनः प्रधानमन्त्री बनाइएका नेता देउवा २०६१ माघ १९ गते प्रधानमन्त्री पदबाट बर्खास्ती भई नजरबन्दमा परेका थिए । राजा ज्ञानेन्द्रको यो कदमपछि संसदीय राजनीतिमा सक्रिय राजनीतिक दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच सहकार्यको वातावरण बनेको थियो ।

    विसं २०५९ जेठ ८ मा संसदीय दलको नेता एवम् प्रधानमन्त्री रहेका बेला नेता देउवाले संसद् विघटन गरेपछि काँग्रेस विभाजन भएको थियो । काँग्रेसको विभाजनपछि उनी नेपाली काँग्रेस (प्रजातान्त्रिक)को सभापति बनेका थिए । काँग्रेस र काँग्रेस प्रजातान्त्रिकको विसं २०६३ मा एकतापछि उनी नेपाली काँग्रेसको वरिष्ठ नेता भए ।

    deuwa.jpg

    उनी विसं २०५६ मा काँग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले गठन गरेको माओवादी समस्या समाधान उच्चस्तरीय समितिका अध्यक्षसमेत थिए ।

    प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेवि सङ्घका प्रथम सभापति हुन् ।

    देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्विट्जरल्यान्ड, ग्रिस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलियालगायत मुलुकको भ्रमण गरेका छन् । काँग्रेसको १३ औँ महाधिवेशनमा कार्यबाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै सभापति पदमा विजयी भएका थिए ।

    यसअघि पार्टीको १०औँ महाधिवेशनमा नेता गिरिजाप्रसाद कोइराला र १२औँ महाधिवेशनमा नेता सुशील कोइरालाबाट समेत देउवा पार्टी सभापति पदमा पराजित भएका थिए ।

    sherbahadur_girija.jpg

    पार्टी संसदीय दलको नेतामा पनि विसं २०५६ नेता भट्टराईले राजीनामा दिएपछि तत्कालीन सभापति गिरिजाप्रसाद, पहिलो संविधानसभा निर्वाचनपछि तत्कालीन उपसभापति पौडेल र दोस्रो संविधानसभा निर्वाचनपछि सभापति सुशीलबाट नेता देउवा पराजित भएका थिए ।

    मंगलबार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । सर्वोच्च अदालतको परमादेश बमोजिम संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।

    प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत नपाए पनि उनकै नेतृत्वमा मुलुक चुनावमा जानेछ ।

    pm-sher-768x482.jpg

    नवनियुक्त प्रधानमन्त्री देउवाले मंगलबार साँझ पद तथा गोपनियताको शपथ खाएका छन् ।


    बुधवार, आषाढ ३० २०७८११:४३:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij