काठमाडौं । जनता समाजवादी पार्टी विभाजन तर्फ उन्मुख हुनुमा दुवै पक्षले एक अर्कालाई आरोप लगाएका छन् ।
उपेन्द्र यादव तथा डा. वावुराम भट्टराई पक्ष र महन्थ ठाकुर तथा राजेन्द्र महतो पक्षले एक अर्कालाई दोषारोपण गरेका हुन् ।
यादव भट्टराई पक्षका नेता महेन्द्र राय यादवले ठाकुर महतो पक्षबाट धेरै गल्तीहरु भएकाले आगामी दिनमा यस्ता गल्ती नहुने प्रतिबद्धतासहित एकता गर्न आफुहरुले प्रस्ताव गरेको बताउनुभयो ।
उहाँले एकताका लागि आफुहरुले गरेको प्रस्ताव र आग्रहलाई ठाकुर महतो पक्षले अस्विकार गरेकाले पार्टी विभाजन तर्फ गएको दावी गर्नुभयो ।
“हामीले जुटौँ, विगतका कमजोरी समिक्षा गरौ, गल्ती गरेकाहरुले आत्मालोचा गरौँ भनेर हामीले प्रस्ताव राखेका थियौँ, तर उहाँहरुले मान्नु भएन,” नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा नेता यादवले भन्नुभयो ।
आफुनो पक्षमा बहुमत रहेकाले सवै आधिकारीकता आफ्नो पक्षको हुने पनि नेता यादवले दावी गर्नुभयो ।
संसद विघटन गराउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठाकुर महतो पक्षले सघाएकाले मुलुक अहिलेको संकटपूर्ण अवस्थामा आइपुगेको उहाँको भनाई थियो ।
“प्रतिनिधि सभा विघटनका लागि ओलीलाई सघाएकाले ठाकुरजीहरु ओलीभन्दा बढी दोषी हुनुहुन्छ,” नेता यादवले भन्नुभयो ।