काठमाडौं – प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दामा पक्ष–विपक्षका वकिलको बहस सकिएको छ । असार ९ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज रिट निवदेक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका वकिलहरूले जवाफी बहस गरेका थिए ।
आज बरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, शम्भु थापा र बद्रीबहादुर कार्कीले जवाफी बहस गरेका हुन् । यो बहससँगै यो मुद्दामा पक्ष–विपक्षको बहस सकिएको छ ।
अहिले एमिकस क्युरीले इजलासलाई राय दिने क्रम शुरु भएको छ । सर्वोच्चको संवैधानिक इजलासले एमिकस क्युरीका लागि २ घण्टाको समय छुट्याएको छ ।
सर्वोच्च बारबाट एमिकस क्यूरीका रुपमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रसाद घिमिरे र प्रकाशबहादुर केसीलाई पठाएको छ भने नेपाल बारबाट राघवलाल वैद्य र उषा मल्ल पाठकले बहस गर्नेछन् ।
निर्धारित समयमै उनीहरूको पनि बहस सकिए संवैधानिक इजलासले आजै मुद्दामा निर्णय सुनाउन सक्छ । बहस लम्बिएर मंगलबार पनि जान सक्छ । इजलासले आज फैसला नदिएर फैसला सुनाउने दिन पनि तोक्न सक्ने सम्भावना रहेको छ ।
यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २३ सांसदले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम आज साँझ ५ बजे सकिँदैछ ।
गत शुक्रबार बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकमार्फत अध्यक्ष ओलीले असार २१ गते सोमबार बेलुका ५ बजेसम्मको अल्टिमेटम दिँदै त्यो बेलासम्म हस्ताक्षर फिर्ता नलिए उनीहरु एमाले नै नरहने चेतावनी समेत दिनुभएको थियो ।
ओलीको अल्टिमेटममा माधवकुमार नेपाल पक्षले हस्ताक्षर फिर्ता नगर्ने जवाफ दिइसकेको छ । यसले एमालेभित्रको विवाद थप जटिल र नयाँ मोडमा प्रवेश गर्ने देखिएको छ । यसबीचमा पार्टी एकताको सन्देश दिन भन्दै दोस्रो तहका नेताहरुले ओली र नेपालको संयुक्त हस्ताक्षरित विज्ञप्ति निकाल्न गरेको प्रयाससमेत असफल भएको छ ।