काठमाडौं – संसद्को तल्लो सदन प्रतिनिधिसभा विघटनसम्बन्धि परेका करिब ३० वटा रिट निवेदनको सुनुवाइ अन्तिम चरणमा पुगेको सर्वोच्च अदालतले जनाएको छ ।
यसैबीच, आज प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दामा जारी सुनुवाइमा अन्तिम बहस सुरु भएको छ । आज वरिष्ठ अधिवक्ता हरिहर दाहालले जवाफी बहस गर्दै हुनुहुन्छ । आज रिट निवेदक पक्षका तीनजना वरिष्ठ अधिवक्ताले बहस गर्नुहुनेछ । वरिष्ठ अधिवक्ता दाहालसँगै शम्भु थापा, बद्रीबहादुर कार्कीले रिट निवेदकका पक्षबाट जवाफी बहस गर्नुहुनेछ ।
गत साता शुक्रबारसम्म रिट निवेदक र विपक्षी दुवैका तर्फबाट बहस सकिएपछि आइतबारबाट रिट निवेदकतर्फका कानुन व्यवसायीहरूले जवाफी बहस सुरु गरेका थिए ।
सोमवार पनि त्यही बहसले निरन्तरता पाउने र त्यसपछि अदालतको सहयोगीको रूपमा एमिकस क्युरीले बहस गर्ने सर्वोच्च निकट स्रोतले जनाएको छ ।
‘अन्यथा भएन र इजलासले चारघण्टा बहस सुन्यो भने आज बहस सकिन्छ । सामान्यतया इजलासले चारघण्टा बहस सुन्ने गरेको छ’, सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले नेपाली नेटवर्कसँग भन्नुभयो ।
निवेदकका तर्फबाट बहसी जवाफ सक्न अदालतले दिएको समय तीन घण्टा दुई मिनेट बाँकी रहेको पनि उहाँले जानकारी दिनुभयो ।
त्यसपछि एमिकस क्युरीलाई बहसका लागि अदालतले दुई घण्टाको समय दिएको छ।
एमिकस क्युरीका लागि वकिलहरूको छाता सङ्गठन नेपाल बार एशोसियशनका दुईजना र सर्वोच्च बार एशोसियशनका दुईजना वकिलले बहस गर्नेछन् ।
एमिकस क्युरीका रूपमा नेपाल बारले राघवलाल वैद्य र उषा मल्ल पाठकको नाम पठाएको छ ।
त्यस्तै, सर्वोच्च बारले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रसाद घिमिरे र प्रकाशबहादुर केसीलाई पठाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालगायत न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले असार ९ गतेदेखि पक्ष र विपक्षका वकिलहरूको बहस सुन्न सुरु गरेको थियो ।
जेठको पहिलो साता राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीका लागि प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका सभापति शेरबहादुर देउवा दुवैको दावी नपुगेको बताउनुभको थियो ।
त्यसपछि मन्त्री परिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दोस्रो पटकका लागि प्रतिनिधिसभाको विघटन गर्नुभयो । विघटन भएपछि त्यससँग सम्बन्धित विभिन्न ३० वटा रिट निवेदनहरू सर्वोच्च अदालतमा परेका थिए ।