काठमाडौं । कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाकाे विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । कालीगण्डकी सरोकार युवा समूहले काठमाडाैकाे माइतीघर मण्डलामा शुक्रबार विरोध प्रदर्शन गरेको हो।
विराेधमा उत्रिएका युवाहरूले कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनालाई जनविरोधी, सभ्यताविरोधी र पर्यावरण खल्बल्याउने परियाेजनाकाे संज्ञा दिएका थिए ।
प्रदर्शनकारीहरूले जनताको आवाज यही हो, कालीमा पानी चाहियो, काली डाइभर्सन चाहिँदैन, पर्यावरण मास्न पाइँदैन, काली डाइभर्सन हुन दिँदैनौ, लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए।
प्रभावित क्षेत्रबाट विराेध र असन्तुष्टिका स्वर उठिरहेका बेला काठमाडाैबाट समेत विराेध सुरू भएकाे हाे । परियाेजनाले त्यस क्षेत्रका युवाहरूले भविश्य संकटमा पार्ने भएकाले अन्य विराेधका कार्यक्रमहरू गर्ने तयारी भइरहेकाे प्रदर्शनका अगुवा तथा युवा नेता युवराज पाण्डेले जानकारी दिनुभयाे ।
केहीदिन पहिले अर्थमन्त्री विष्णुप्रसाद पौडलले बुटवलमा आयोजित एक कार्यक्रमबीच कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको कार्यालय उद्घाटन गरेकाेपछि कालीगण्डकीकाे तटिय क्षेत्रका बासिन्दा रूष्ट भएका छन । गण्डकी प्रदेश सरकारले त यस परियाेजनाकाे खुलेरै विराेध गरेकाे छ ।
गण्डकी प्रदेशका राजनीतिक दल तथा स्थानीयले विरोध गर्दै अाएका छन्। एमाले उपमहासचिव विष्णु पाैडेलले ल्याएकाे यस परियाेजनाकाे एमाले सचिव तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पुथ्वी सुब्बा गुरुङलगायतले पनि चर्काे विराेध गर्नु भएकाे छ । जसका कारण अहिले लुम्बिनी र गण्डकी प्रदेशबीच द्वन्द्व निम्तिने देखिएको छ।
रूपन्देही, कपिलवस्तु र नवलपरासीलाइ हित हुने परियाेजना भनिएपनि परियाेजना पुरा हुनेमा शंका देखिएकाले बुटवल क्षेत्रका स्थानीय तथा राजनीतिक कार्यकर्ता भने यस विषयमा माैन देखिएका छन् ।