काठमाडौं– रुपा सुनार प्रकरणमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले गल्ती स्वीकार गर्दै माफी मागेका छन् । उनले राष्ट्रिय मानवअधिकार आयोग पुगेर माफी मागेका हुन् ।
आफ्ना पदाधिकारीसँगको आजको छलफलपछि मन्त्री श्रेष्ठले माफी मागेको आयोगले जनाएको छ ।
‘मबाट नहुनुपर्ने काम भयो, अब आइन्दा यस्तो गल्ती हुने छैन’, आयोगले मन्त्री श्रेष्ठको भनाइ उदृत गर्दै भनेको छ ।
तनहुँकी रूपा सुनारले दलित भएकै आधारमा आफूलाई काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानले कोठा भाडामा नदिएको भन्दै उजुरी दिएकी थिइन् । उजुरी गरेको ३ दिनपछि प्रधान पक्राउ परेकी थिइन्।
प्रधानलाई छुटाउन असार ९ गते शिक्षामन्त्री श्रेष्ठ झण्डासहितको सरकारी गाडी लिएर अनामनगरस्थित महानगरीय प्रहरी वृत्त पुगेको विषयमा आयोगमा उजुरी परेको थियो ।
सोहीअनुरुप छलफलका लागि मन्त्री श्रेष्ठलाई बोलाइएको आयोग स्रोतले जनाएको छ ।
मंगलबार आयोगको कार्यालयमा पुगेर मन्त्री श्रेष्ठले घटनाका विषयमा आफ्नो धारणा राखेका हुन् ।
सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नु भन्दै प्रधानलाई थुनामुक्त गर्न प्रहरीलाई आदेश दिएको थियो । सोही दिन मन्त्री श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेर प्रधानलाई आफ्नै गाडीमा हालेर घर पुर्याएका थिए ।
मन्त्रीको यस कदमप्रति सर्बत्र विरोध भएको थियो ।