काठमाडौं – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नेपालको पुरानै नक्सा प्रकाशन गरेको पुस्तक बिक्रीवितरण गरेको पाइएको छ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै पुस्तक खरिद गरेका अभिभावकले विद्यालयको पाठ्यपुस्तक भित्र नेपालको पुरानै नक्सा फेला पारेका हुन् ।
विद्यालय तहको कक्षा ५ को सामाजिक अध्ययन तथा सिर्जनात्मक कला विषय र कक्षा ९ को सामाजिक अध्ययन विषयको पुस्तकमा लिम्पियाधुरा, लिपुलेक र कालापानीबिनाको पुरानै नक्सा प्रकाशन गरेको भेटिएको छ ।
कक्षा ९ को सामाजिक अध्ययन विषयको नक्सा कार्य शीर्षक रहेको पाठ ७ मा नेपालको पुरानै नक्सा प्रकाशन भएको छ । यस्तै कक्षा ५ को पाठ ६ मा नक्सामा संकेतहरु भरौँ पाठमा पुरानै नक्सा प्रकाशन भएको छ । किताबको पहिलेको मूल्य छोपेर केही बढाएर नयाँ मूल्यसमेत राखिएको पाइएको छ ।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले बजारमा पुरानै स्टकको किताब गएको हुनसक्ने दावी गर्दै त्यस्ता पुस्तक फिर्ता हुने बताउनुभयो ।
गत महिनामात्रै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले बजारमा पुराना नक्सा प्रकाशन भएको किताब विक्री वितरण गर्नेलाई कारवाही गर्ने बताउनुभएको थियो भने त्यस्ता किताब फिर्ता ल्याउन समेत निर्देशन दिनुभएको छ ।