काठमाडौं – जातीय कारणले कोठा नदिएको अभियोगमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधान थुनामुक्त भएकी छिन् । जिल्ला अदालत, काठमाडौंले घरबेटी प्रधानलाई छाड्न आदेश दिएको हो ।
'दलित' भएकै कारण आफूलाई कोठा नदिएको उजुरी रुपा सुनारले हालेपछि प्रधानलाई आइतबार पक्राउ गरिएको थियो ।
उनै प्रधानलाई आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको रोहबरमा छाडिएको हो ।
पक्राउ परेकी घरधनीलाई छुटाउन आज शिक्षामन्त्री श्रेष्ठ आफैँ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए ।
बुधबारै ती घरधनी रिहाइको माग गर्दै बबरमहलस्थित सरकारी वकिलको कार्यालयअगाडिको सडकमा प्रदर्शन गरिएको थियो ।
प्रधानलाई प्रहरी वृत्त, सिंहदरबारले तीन दिनअघि पक्राउ गरेको थियो । ‘पीडित’ सुनारको जाहेरीका आधारमा उनलाई छुवाछुतसम्बन्धि ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको थियो ।