काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशनको मिति सुनिश्चित गरेसँगै महाधिवेशनको होमवर्क पनि तीव्र बनेको छ । सभापति शेरबहादुर देउवा प्रदेश–प्रदेशका केन्द्रीय सदस्यसँग बैठक गरेर आफूलाई जित्ने आधार तयार पारिदिन आग्रह गरिरहनुभएको छ ।
उहाँकै टिमका विमलेन्द्र निधिले देउवालाई आफू अघि बढिसकेको भन्दै १३ औँ महाधिवेशन अघिको समझदारीअनुसार सहयोग गर्न आग्रह गरिसक्नुभएको छ । त्यसलगत्तै निधिले महाधिवेशन केन्द्रित भेटघाट सुरु गर्नुभएको छ ।
आइतबार केन्द्रीय सदस्यहरुसँग भेटघाट गर्नुभएका निधिले आज कांग्रेस महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई ‘लन्च मिटिङ’मा डाँक्नुभएको छ । आज तीन नेताको ‘लञ्च मिटिङ’ बानेश्वरमा जारी छ ।
निधिले सभापतिको प्रत्यासीहरुबीच सहमति वा समझदारी निर्माण गर्न प्रत्यासरीहरुसँग छलफल थालेको बताइएको छ । उहाँले आफू सर्वसम्मत नेतृत्व चयन हुने अवस्थाबाहेक सभापति पदको उमेदवारीबाट पछि नहट्ने बताउनुभएको छ । निधिले बिपीपुत्र डा. शशांक र गणेशमान पुत्र प्रकाशमानलाई पहिलोपटक लञ्चमा डाकेर केही नयाँ सन्देश दिने प्रयत्न गर्नुभएको उहाँनिकट स्रोतले जनाएको छ ।
नेता निधि पनि कांग्रेसका पुराना नेता महेन्द्रनारायण निधिका पुत्र हुनुहुन्छ । यस भेटघाटलाई पारिवारिक विरासत जोगाउने प्रयासको रुपमा समेत विश्लेषण गरिएको छ ।