काठमाडौँ । आज जुन २१ तारिख अर्थात सातौं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ।
संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन सुरु गरेको हो। योग दिवसका अवसरमा विभिन्न संघसंस्थाले विविध कार्यक्रम आयोजना गर्ने भएका छन्। यस वर्ष कोरोना भाइरसको संक्रमण फैलिएकाले सार्वजनिक कार्यक्रमभन्दा पनि प्रविधिलाई उपयोग गरी जुम प्रविधिका माध्यमबाट कार्यक्रम गरिने जनाइएको छ।
योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्तिलगायत सकारात्मक गुणको विकास हुन्छ। यस वर्ष दिवसको नारा ‘मानव सु-स्वास्थ्यको लागि योग’ भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ।