काठमाडौँ – नेकपा एमालेको दुवै समूहमा रहेका प्रभावशाली नेताहरुले एमाले विभाजनको प्रयासलाई सफल हुन नदिने दाबी गरेका छन् ।
संस्थापन र असन्तुष्ट समूहमा रहेका नेताहरुले एमालेको एकता कायम गर्न लगातार प्रयास भइरहेको र यसले सार्थकता पनि पाउन थालेको दाबी गरेका छन् ।
एमाले विभाजन गर्न दुवै समूहका नेताहरु तयार नभएको पनि उनीहरुको दाबी छ । माधव समूहमा रहेका नेता योगेश भट्टराईले पार्टी विभाजन गर्ने बिन्दुमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै नपुगेकाले एकताको आशा जीवितै रहेको बताउनुभयो ।
एमाले विभाजन गरेर अघि बढ्न खोज्ने समूहको साथमा आफूहरु नरहने पनि उहाँले बताउनुभयो । कतिपयले वरिष्ठ नेता माधव नेपाललाई कमजोर पार्न अध्यक्ष ओलीले उहाँको समूहमा रहेका नेताहरुलाई मात्रै आफ्नो क्याम्पमा तान्ने प्रयास गरिरहेको टिप्पणी गरेका छन् ।
तर नेता भट्टराईले एकतावद्ध एमालेमा केपी ओलीदेखि माधव नेपाल र वामदेव गौतमसहितका सबै नेता कार्यकर्ताहरु अटाउने दाबी गर्नुभयो ।
एमाले एकतालाई जोगाउने प्रयासस्वरुप आज पनि दुवै समूहका नेताहरुको बैठक ललितपुरका एक होटेलमा बसेको थियो । उक्त बैठकमा २०७५ जेठ २ को अवस्थाबाटै पार्टीलाई एकतावद्ध बनाउने सहमति भएको बताइएको छ ।
वार्तामा संस्थापन पक्षबाट सुवास नेम्वाङ र विष्णु पौडेल तथा माधव नेपाल समूहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट लगायतका नेताहरु सहभागी थिए । वार्तामा सहभागी नेता नेम्वाङले एमाले विभाजनको प्रयास निस्तेज पार्ने प्रयास भैरहेको जानकारी दिनुभयो ।
एकताका लागि लगातार छलफल भैरहेको तर अन्त्मि निष्कर्ष निकाल्न बाँकी रहेको उहाँले बताउनुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ २ कै अवस्थाबाट पार्टीलाई अघि बढाउन यसअघि नै आह्वान गरिसकेकाले यसमा अरु शर्त र आशंकाको अर्थ नरहने संस्थापन समूहले बताइरहेको छ ।
वार्तामा सहभागी दुई समूहका नेताहरुबीच पहिले जेठ २ अघिको बैठक बस्ने र त्यही बैठकले पूर्वमाओवादी नेताहरूलाई पनि यथावत जिम्मेवारी दिएर समायोजन गर्ने गरी अघि बढ्ने सहमति जुट्न थालेको बताइएको छ ।
तर एमाले एकताका लागि भइरहेका पछिल्ला वार्ताहरुप्रति माधव समूहमा रहेका केही नेताहरुले भने संशय व्यक्त गरेका छन् । नेता भीम रावलले वार्ता टोलीको संयोजक आफू लगायत वरिष्ठ नेताहरुलाई कथित निस्काशन गरिएका बेला एकताका लागि भएका छलफल र प्रयासबारे आफू जानकार नरहेको प्रतिक्रिया दिनुभयो ।
पार्टीलाई जेठ २ को अवस्थामा फर्काउने माधव समूहको मागलाई संस्थापन पक्षले सम्बोधन गर्ने संकेत दिएपछि एमाले एकताको वातावरण बन्दै गएको हो ।
तर त्यसका लागि संसद विघटन र देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालतमा दायर रिटबाट माधव समूहका सांसदहरुले हस्ताक्षर फिर्ता लिनुपर्ने अध्यक्ष ओलीको शर्त छ ।
ओलीको यो शर्तमा मध्यबिन्दु खोज्न सकिने एकताको प्रयासमा जुटेका दुवै समूहका नेताहरुले बताइरहेका छन् ।