काठमाडौं – काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई दुई करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
महानगरका मेयर विद्यासुन्दर शाक्यले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप दुई करोड रुपैयाँ दिने घोषणा गर्नुभएको हो ।
यो रकम बाढी प्रभावितको राहत तथा उद्धारका लागि खर्च गर्नका लागि दिइने मेयर शाक्यले बताउनुभएको छ ।
‘हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएको कारण पनि महानगरले सहयोग गरेको हो’ उहाँले भन्नुभयो ।
मंगलबार राति पहिरोले थुनिएको मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्चीका धेरै घर डुवानमा परेको छ र सयौं मानिस घरबारविहीन भएका छन् । बाढीले सडक, पुललगायतका सार्वजनिक संरचनामा पनि क्षति पु¥याएको छ ।