काठमाडौँ – प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोग लगाउन माग गर्दै प्रदर्शन चर्केको छ । सर्वाेच्च अदालतले पत्नीको हत्या गरेर जेल बसेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रन्जन कोइरालाको सजाय घटाउने फैसला गरेपछि प्रधानन्याधीश जबरालाई महाभियोग लगाएर हटाउन माग गर्दै काठमाडौँमा प्रदर्शन भएको हो । आज स्वतन्त्र राष्ट्रिय अभियान नेपालको पहलमा माइतीघर मण्डलामा भएको प्रदर्शनका सहभागीहरुले ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाभियोग’, न्यायपालिकाको स्वतन्त्रता कायम गर, पीडितलाई न्याय दे लगायतका नाराबाजी गरेका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले तत्कालिन पुनरावेदन अदालतले जन्मकैदको सजाय सुनाएको कोइरालालाई साढे ८ वर्षमात्र कैद हुने फैसला गरेको थियो । सर्वोच्चको फैसलाअनुसार कोइराला हिजो नै छुटिसकेका छन् । तर क्रुर हत्याका दोषीको सजाय घटाउने महान्यायाधीश जबरालाई महाभियोग लगाउन माग गर्दै सडक तातेको हो ।
पत्नी हत्याका दोषी कोइरालाको सजाय घटाएएपछि सामाजिक सञ्जालमा पनि सर्वाेच्च अदालतको चर्काे आलोचना भइरहेको छ । उनीहरु न्यायालय किनबेच भएको टिप्पणी गरेका छन् । सडकमा प्रदर्शन गर्न निस्केकाहरुले रन्जन कोइराला प्रकरणले न्यायालयप्रतिको विश्वास मरेको बताउँदै प्रदर्शन चर्काउने घोषणा गरेका छन् । सर्वाेच्चको पछिल्लो नजिरले आगामी दिनमा अरु पीडितहरुले पनि न्याय पाउने कुरामा विश्वास नरहेको उनीहरुको भनाई छ ।
यस्तै छोरी गीताका हत्यारा पूर्व डीआइजी रन्जन कोइराला जेलबाट मुक्त भएपछि बुवा हरिराम ढकाल मर्माहत बन्नुभएको छ । उहाँले सर्वाेच्च अदालतबाट आफूले कल्पना पनि नगरेको फैसला आएको बताउनुभयो ।
तर यता मृतक गीता ढकालका जेठा छोरा आयुश ढकालले भने गीता हत्या प्रकरणमा आफ्ना बुवा रज्जन कोइराला निर्दाेश रहेको दाबी गरेका छन् । रातोपाटी डटकटसँगको अन्तर्वार्तामा आयुशले आफ्ना बुवा निर्दाेष रहेको दाबी गरेका हुन् । घटना भएको दिनमा बुवा आफूसँगै रहेको दाबी गर्दै आयुषले आफूले साक्षी बयानमा पनि बुवा निर्दाेष रहेको बयान दिएको बताउनुभयो । बुवा जेल परेपछिको आठ वर्ष आफूहरु पीडा सहेर बसेको बताउँदै आयुशले जेलमुक्त भएपछि खुशी लागेको प्रतिक्रिया दिनुभयो ।
तर यता वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले रन्जन कोइरालालाई कैद छुट गर्ने फैसलाले अदालतप्रतिको विश्वासमा ह्रास आएको बताउनुभयो । क्रुर हत्याका दोषीलाई सजाय छुट दिएपछि न्यायालयप्रतिको भरोसा उड्न सक्ने उहाँको भनाई छ । तर अदालतले रन्जन कोइरालालाई नेपालको प्रचलित कानुन बमोजिम नै कैद सजाय छुट दिएको उहाँले बताउनुभयो । न्यायाधीशको स्वविवेकीय अधिकारको दुरुपयोग भयो भन्ने आम नागरिकको आशंका बारे अदालत सचेत हुनु पर्ने र नागरिकले पनि खबरदारी गर्नु पर्ने उहाँको भनाई छ।
श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलापछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउन प्रस्ताव गर्नुभएको छ । उहाँले संसद अधिवेशन बोलाएर प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई बिदा गर्ने र अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउने प्रस्ताव गर्नुभएको हो ।
सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले देश गम्भीर संकटतिर गइरहेको उल्लेख गर्दै लोकतान्त्रिक ढंगले संकटमोचनका लागि केपी ओलीलाई प्रधानमन्त्रीबाट बिदा गरेर महान्यायाधीश चोलेन्द्र शमसेर जबरामाथि महाभियोग लगाउन प्रस्ताव गर्नुभएको हो ।