Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
यस्तो थियो उज्वल थापाको राजनीतिक यात्रा :

जो बन्यो खबरदारी अभियन्तादेखि नेतासम्म

जो बन्यो खबरदारी अभियन्तादेखि नेतासम्म

  • मंगलवार, जेठ १८ २०७८

  • 1.4K
    SHARES

  • जो बन्यो खबरदारी अभियन्तादेखि नेतासम्म

    काठमाडौं । आज ४४ वर्षको अल्पायुमै निधन भएका विवेकशील साझा पार्टीका नेता उज्वल थापा बूढानीलकण्ठबाट कक्षा १२ (ओ लेभल) सम्म अध्ययन गरेका थिए । त्यसपछि छात्रवृत्तिमा खगोल तथा भौतिक विज्ञान (एस्ट्रोफिजिक्स) अध्ययनका लागि उनी अमेरिका गएका थिए।

    तर थापा खगोल तथा भौतिकशास्त्री होइन त्यो पढाइ छाडेर वेब डिजाइनर बनेर नेपाल फर्किए ।

    नेपाल फर्किएका थापाले स्वदेशमा उद्यमशीलता र समाजसेवा दुवैमा हात हाले ।

    सूचना प्रविधिसम्बन्धी कम्पनी खोलेर उद्यमी बन्ने पाइला चालेका उनले कफी खेतीमासमेत लगानी गरेका थिए ।

    द्वन्द्व रूपान्तरणबारे प्रशिक्षित भएर सो विषयमा जनचेतना फैलाउने अभियानबाट थापाले सामाजिक कार्यको थालनी गरे ।

    थापासहित विदेशमा अध्ययन गरेर फर्किएका युवाहरूको सक्रियतामा ’नेपालका लागि उद्योगी’ नामक अभियानको सुरुवात भएको थियो ।

    ujwal-thapa_O7c73mdAkT.jpeg

    नेपाल फर्किएको केही वर्षसम्म थापा युवा उद्यमशीलता प्रवर्द्धनमै सक्रिय भएका थिए।

    स्वदेश फर्किएर थापा उद्यमशीलता र समाजसेवामा सक्रिय भएका बेला नेपालमा राजनीतिक अस्थिरता चरम उत्कर्षमा थियो ।

    प्रथम संविधानसभा गठन भए पनि संविधान बन्न सकेको थिएन । कहिले यो समूह त कहिले त्यो समूहले हरेक दिनजस्तो बन्द र हडताल गर्ने गर्थे ।

    त्यसले आजित भएका केही युवासँग मिलेर थापाले २०६५ सालमा सामाजिक सञ्जालमा ’बन्द विरुद्ध अभियान’का लागि एउटा समूह बनाएका थिए ।

    उक्त अभियानमा आबद्ध युवाहरू नेपाल बन्द घोषणा भएका दिन “नेपाल खुला छ“ भन्ने ब्यानर बोकेर सवारीसाधन चलाएर हिँड्ने गर्थे ।

    काठमाडौंको माइतीघर मण्डलामा उनीहरू बन्दका दिन पनि प्लेकार्ड बोकेर उभिन्थे ।

     

    त्यसको एक वर्ष जति पछि थापाकै सक्रियतामा युवाहरूले ’परिवर्तनका लागि हामी नेपाली एक’ अभियान सुरु गरे ।

    संविधानसभा गठन भएको लामो समय भइसक्दा पनि संविधान बन्न नसकेको अवस्था थियो त्योवेला ।

    उनीहरूले सामाजिक सञ्जालदेखि सडकसम्म ’ज्याला पूरा लियौ, अब संविधान देऊ’ भन्ने नारा लगाए ।

    तर त्यस्ता अभियानले मात्र समाजमा परिवर्तन ल्याउन सम्भव नदेखेपछि आफूहरूले राजनीतिमै प्रवेश गर्नुपर्छ भन्ने सोच राखेको थापा बताउने गर्थे ।

    त्यसैले , उनले विसं २०६९ मा विवेकशील नेपाली भन्ने समूह बनाए।

    _118764672_ujwalthapa.jpg

    २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा विवेकशील नेपालीले काठमाडौंका चार क्षेत्रबाट स्वतन्त्र रूपमा आफ्ना उम्मेदवारहरू उठाएको थियो ।

    त्यस बेला थापा क्षेत्र नम्बर–५ बाट उम्मेदवार बनेका थिए । तर उनले एकदमै थोरै मत ल्याएका थिए ।

    दोस्रो संविधानसभाको निर्वाचनपछि भने २०७१ सालमा थापाकै नेतृत्वमा विवेकशील नेपाली दल गठन भयो ।

    उक्त दलले २०७४ सालको स्थानीय निर्वाचनमा भाग लिँदा विशेष गरी काठमाडौं महानगरपालिकामा युवा नेतृ रञ्जु दर्शनालाई मेयरको प्रतिस्पर्धी बनाएपछि निकै चर्चा पायो ।

    तर स्थानीय चुनावमा खासै सफलता नपाएपछि वैकल्पिक राजनीतिकै लागि भनेर स्थापना भएको अर्को दल साझा पार्टी र विवेकशील एक भए ।

    सामूहिक नेतृत्वको अवधारणमा अपनाएको उक्त दलमा थापा सह–संयोजक बनेका थिए ।

    उक्त विवेकशील साझा दलले २०७४ सालको आम निर्वाचनमा भाग लियो तर चुनावी सफलता खासै पाउन सकेन ।

    विवेकशील साझा दल एक भएको १६ महिनापछि आन्तरिक विवादका कारण फुट्न पुग्यो र थापा पुनः विवेकशील दलको नेता बन्न पुगे ।

    तर दुई कार्यकाल नेतृत्व गरेपछि उनले सहज रूपमा मिलन पाण्डेलाई नेतृत्व हस्तान्तरण गरे ।

    त्यसपछि फेरि गत मङ्सिरमा विवेकशील र साझा दल एक भएर पुनः विवेकशील साझा दल गठन भएको छ ।

    थापा त्यसयता खुला राजनीतिमा कमै सक्रिय देखिएका थिए ।

     


    मंगलवार, जेठ १८ २०७८०९:२१:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij