काठमाडौं - भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा तीनजना समातिएका छन् । गएराति उपचारका क्रममा कोरोना भाइरस संक्रमित आफन्तले ज्यान गएपछि स्वास्थ्यकर्मीमाथि आफन्तले आक्रमण गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावत छन् । मानबहादुर मृतकका भाइ र अन्य दुईजना मृतककै छोरा छन् ।
५३ वर्षीय आफन्तको मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको चौतर्फी आलोचना भइरहेको छ ।
घटनाको अनुसन्धान भइरहेको र त्यसपछि के मुद्दा चलाउने भन्नेबारे टुङ्गो लाग्ने बाँकेका एसपी ओम रानाले जानकारी दिनुभयो ।