काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित बैठकले यस्तो निर्णय गरेको हो ।
पछिल्लो राजनीतिक घटनाको समीक्षा गर्दै संसद् विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने कांग्रेसले निष्कर्ष निकालेको पार्टीका सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो ।
'बैठकले न्यायिक लडाइ अदालतमा र राजनीतिक लडाइ सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत थाल्नुपर्ने निर्णय गरेको छ', बैठकपछि उहाँले भन्नुभयो ।
कांग्रेसले नागरिक समाज, राजनीतिक दल, आम नागरिकलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको षड्यन्त्रमुलुक असंवैधानिक कदमबारे सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत सुसूचित गराउन बहस चलाउने महामन्त्री महतको भनाइ छ ।
प्रधानमन्त्रीका काम र राष्ट्रपतिको निर्णयविरुद्ध पार्टीपंक्ति र आम नागरिकलाई सोही अनुसार मोबिलाइज निर्णय भएको महतले जानकारी दिए ।
‘हामीले संसद विघटनको कदमविरुद्ध नागरिक समाजदेखि लिएर पार्टीलाई पूर्ण रुपमा परिचालन गर्ने काम गर्छौं’, महतको भनाइ छ ।
साथै, बैठकले कोरोना भाइरस महमारी फैलिएकाले तत्काल सडकमा आउनु उपयुक्त नभएको पनि निष्कर्ष निकालेको छ ।
जेष्ठ ७ गते मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भएको प्रतिनिधिसभा विघटनको विरुद्धमा काँग्रेसले विपक्षी पार्टीसँग मोर्चाबन्दी निर्माण गरेको छ । त्यसको विरुद्धमा काँग्रेसले माओवादी केन्द्रसहितको एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षसँग मोर्चा बनाएको छ ।
उक्त गठबन्धनले न्यायिक लडाइका लागि सोमबार सर्वोच्च अदालतमा विघटित प्रतिनिधिसभाका बहुमत सांसदको हस्ताक्षरसहित रिट निवेदन दर्ता गराएको छ ।