Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
एमालेमा विग्रह

नेपाल र खनालसहित ११ नेता साधारण सदस्यबाटै निष्कासित

नेपाल र खनालसहित ११ नेता साधारण सदस्यबाटै निष्कासित

  • सोमवार, जेठ १० २०७८

  • 988
    SHARES

  • नेपाल र खनालसहित ११ नेता साधारण सदस्यबाटै निष्कासित

    काठमाडौँ – नेकपा एमालेले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको एमालेको स्थायी कमिटी बैठकले खनाल र नेपालसहित ११ सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।

    शनिबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै खनाल–नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

    तर, कसैले पनि स्पष्टीकरणको जवाफ नबुझाएपछि एमालेले उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

    नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाट निष्कासन गर्ने निर्णय एमालेले गरेको हो ।

    नेता भीम रावलले आफूहरुलाई पार्टीबाट निष्कासन गर्नुको कुनै अर्थ र औचित्य नरहने बताउनुभयो । साधारण सदस्यताबाट समेत निष्कासनमा परेपछि नेपाली रेडियो नेटवर्कलाई प्रतिक्रिया दिँदै रावलले नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई आफूखुशी भंग गरेर महाधिवसन आयोजक समितिका नाममा अवैध अध्यक्ष बनेका ओलीले आफूहरु जस्ता नेतालाई साधारण सदस्यबाट समेत निष्कासन गरेको निर्णय गर्नु हाँस्यास्पद मात्रै भएको बताउनुभयो ।

    नेता रावलले बरु प्रतिनिधिसभाको पटक पटक विघटन गर्ने र संविधानको हत्या गर्ने लगायतका क्रियाकलापमा संलग्न भएको आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओली र उनको गुटका मानिसहरुलाई कारबाही गरिनुपर्ने बताउनुभयो । केही व्यक्तिहरुलाई खुशी पार्न नागरिकता जस्तो सम्वेदनशील विषयमा सौदाबाजी गर्ने केपी ओलीको हर्कतबारे देशभक्त नेपालीहरुले आवाज उठाउनुपर्ने बेला आएको रावलले बताउनुभयो ।

    एमालेले शनिबार स्पष्टीकरण सोधिएका ११ जानलाई साधारणसदस्य समेत नरहने गरी निष्काशन गर्नुका साथै विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्ने रिटमा हस्ताक्षर गरेका थप १२ जना सांसदलाई पनि २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

    यस्तै सुदूरपश्चिम सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय आजको बैठकले गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो । सुदूरपश्चिम सरकारमा रहेका मन्त्रीहरुलाई तत्काल राजीनामा दिन निर्देशन दिइएको पनि उहाँले जानकारी दिनुभयो ।

    वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहितलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएपछि नेकपा एमाले औपचारिक विभाजन भएको राजनीतिक विश्लेषकहरुले बताइरहेका छन् । तर नेता झलनाथ खनालले आफूहरुलाई गरिएको कारबाहीको कुनै अर्थ नरहेको बताउनुभएको छ ।

    प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनका ‘गद्धार’ रहेको बताउँदै खनालले कारवाहीले केही फरक नपर्ने प्रतिक्रिया सञ्चार माध्यमहरुमा दिनुभएको छ । उहाँले नयाँ पार्टी गठन लगायतका विषयमा पर्याप्त छलफल गरेर अगाडि बढ्ने बताउनुभयो ।

     


    सोमवार, जेठ १० २०७८०७:५५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij