Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बादलको पराजयप्रति एमालेको माधव समूहले के भन्यो?

बादलको पराजयप्रति एमालेको माधव समूहले के भन्यो?

  • बिहिवार, जेठ ६ २०७८

  • 1.2K
    SHARES

  • बादलको पराजयप्रति एमालेको माधव समूहले के भन्यो?

    काठमाडौँ – राष्ट्रियसभा उपनिर्वाचनमा सूर्य चिन्हधारी रामबहादुर थापा बादलको पराजयसँगै नेकपा एमालेभित्र फेरि भूकम्प गएको छ ।

    एमालेको माधवकुमार नेपाल समूहले आधिकारिक उम्मेदवार बादललाई मत नदिएर विद्रोह गरेपछि डा. खिमलाल देवकोटा विजयी हुनुभएको हो ।

    माओवादी केन्द्र त्यागेर एमाले भित्रिएका बादलको पराजयलाई धेरैले एमाले विभाजनको रेखा कोरिएको रुपमा अर्थ लगाएका छन् ।

    राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले नेतृत्वको निर्देशनविपरीत मतदान भएकोले औपचारिक रुपमा एमाले फुट्ने निश्चित भएको रुपमा यो घटनालाई बुझ्न सकिने बताउनुभयो ।

    तर एमाले भित्रिएको पूर्व माओवादी समूहलाई किनारा लगाउने उदेश्य बमोजिम यो हर्कत भएको हो भने एमाले पंक्तिको एकतामा असर नपर्ने उहाँले बताउनुभयो ।

    पार्टी विवादमा आफूलाई साथ दिएका पूर्व माओवादी नेताहरुलाई प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले डढेलोपछि उम्रिएका पालुवाको संज्ञा दिँदै उनीहरुको पालनपोषणमा आफूले कुनै कमि नगर्ने बताउँदै आउनुभएको थियो ।

    त्यसैले पनि राष्ट्रियसभामा बादलको पराजयलाई एमाले संस्थापन समूहले पार्टी र अध्यक्ष ओलीको प्रतिष्ठामा गम्भीर आँच पुगेको रुपमा लिएको छ । यो घटनापछि एमाले विवाद समाधान गर्न गठित कार्यदलले अब काम गर्न सक्ला कि नसक्ला प्रश्न उब्जिएको छ ।

    वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट कार्यदलको नेतृत्व गरिरहनुभएका नेता भीम रावलले भने पार्टीलाई विधि विधानमा हिँडाउनुपर्ने कुरा र आजको निर्वाचनको कुनै सम्बन्ध नरहेको बताउनुभयो ।

    एमाले विवाद समाधानका लागि वार्ता हुनुपूर्व नै आफूहरुले डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने कुरा तय भैसकेकोले त्यसमा अन्यथा नभएको उहाँले बताउनुभयो ।

    यता एमाले महासिचव ईश्वर पोखरेलले पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गर्नेमाथि छानबिन गरेर कारबाही गरिने बताउनुभएको छ । पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्नु अक्षम्य रहेको उहाँको भनाई छ ।

    एकातिर कार्यदल बनाएर कुनै अन्तरविरोध नबढाउने र आचारसंहितामा ध्यान दिने भनिएको तर अर्कोतिर खुलेआम विपक्षीहरूसँग मिलेर आधिकारिक उम्मेदवारको विपक्षमा गतिविधि गर्नु सह्य नहुने उहाँले बताउनुभयो ।

    तर नेता रावलले कार्यदल गठन हुनुपूर्व नै आफूहरुले डा. देवकोटाको उम्मेदवारी घोषणा गरिसकेको जिकिर गर्नुभयो । त्यसपछि भएका वार्ताहरुमा पनि संस्थापन पक्षसँग राष्ट्रियसभा उपनिर्वाचनबारे कुनै छलफल नभएको रावलको जिकिर छ ।

    एमालेभित्र अन्तरसंघर्ष चर्किएका बेला रिक्त रहेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि माधव नेपाल समूह र विपक्षी दलहरुले डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका थिए । एमाले संस्थापन समूहले भने रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाएको थियो ।

    सुरुमा हार्ने चुनाव नलड्ने अडान लिए पनि एमाले पंक्तिको पुनर्मिलनले मुर्त रुप लिन थालेसँगै बादलले उम्मेद्वारी दर्ता गराउनुभएको थियो ।

    तर आज भएको निर्वाचनमा बादल हारेपछि नेकपा एमालेले आधिकारिक उम्मेदवारविरुद्ध मत दिनेहरुलाई कारबाहीको चेतावनी दिएको छ । ओली समूहका नेता गोकुल बाँस्कोटाले बालको पराजयलाई दूध खुवाएर पालेका सार्पले डसेको टिप्पणी गर्नुभएको छ ।

    एकातिर सर्वाेच्चको आदेशसँगै गृहमन्त्री पद गुमाउनु र अर्काेतिर राष्ट्रियसभामा पनि पराजित भएपछि अब एमालेभित्र बादलको भूमिका कस्तो हुने अनिश्चित छ ।


    बिहिवार, जेठ ६ २०७८०७:५७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij