काठमाडौँ – नेकपा एमाले भित्रका दुई शक्तिले पार्टीभित्र देखिएको आन्तरिक संघर्षविराम गर्ने सहमति गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको एकता कार्यदलले एकले अर्को पक्षमाथिको प्रहार रोक्ने निर्णय गरेको हो ।
कार्यदल गठनपछि आज बसेको बैठकले एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउन आरोप–प्रत्यारोपको शृंखला रोक्न नेता–कार्यकर्तालाई आग्रह गर्ने निर्णय गरेको नेता भीम रावलले बताउनुभयो ।
वरिष्ठ नेता नेपाल पक्षको कार्यदलका संयोजक रावलले एकतामा थप चिरा पर्न नदिन यस्तो निर्णय गरिएको बताउनुभयो ।
एमाले प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टीको समस्या समाधान गर्ने काम शुरु गरिसकेकाले पार्टीका सबै तह, तप्काको सकारात्मक सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तय गरी लागू गर्ने निर्णय गरेको पनि उहाँले बताउनुभयो । आपसमा असमझदारी बढ्ने र असहयोग हुने गतिविधि रोक्न आह्वान गरिएको र यसबाट एकता प्रक्रिया टुंगोमा पु¥याउन सहज हुने उहाँको दाबी छ ।
अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच तीन चरणको वार्तापछि १० सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलमा दुवै पक्षबाट पाँच–पाँच जना सदस्य छन् । यो कार्यदललाई तीन दिनभित्र विवाद समाधानको सूत्र पहिल्याएर आउन भनिए पनि पहिलो दिन हिजो बैठक बस्न सकेको थिएन ।
आज बसेको बैठक पनि ठोस एजेण्डामा प्रवेश गरेको छैन । एमालेको माधव समूहले पार्टीलाई ७५ जेठ २ अघिकै अवस्थामा पु¥याउन माग गरिरहेको छ । यो माग सम्बोधन गर्न अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच सहमति भएपछि एमालको विभाजन टरेको थियो ।
तर ७५ जेठ २ मा फर्किए एमाले भित्रिएको पूर्व माओवादी समूहको व्यवस्थापन कठिन हुने देखिएको छ । अध्यक्ष ओलीले संकटमा आफूलाई साथ दिएका पूर्व माओवादी नेताहरुको यथोचित व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरिरहनुभएको छ । ओलीको यो प्रतिवद्धताको परीक्षा जेठ ६ गते राष्ट्रियसभाको निर्वाचनमार्फत हुँदैछ ।
वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिन्हधारी एमाले उम्मेदवार रामबहादुर थापा बादललाई सघाउने वचन नदिएको नेपालको सचिवालयले प्रष्ट पारिसकेको छ ।
माधव नेपालका स्वकीय सचिव मोहन गौतमले आज साँझ वक्तव्य जारी गर्दै मतदातालाई स्वविवेक प्रयोग गर्न दिने कुरामा सहमति भए पनि बादललाई समर्थन नजनाएको बताउनुभएको छ ।
गौतमका अनुसार नेता नेपालले अन्य दल समेतलाई सहमत गराएर आफूले डा.खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकाले अहिले अन्यथा गर्न नसक्ने स्पष्ट पार्नुभएको छ ।