काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझका लागि बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । आजको बैठक नियमित बैठक भएको एक मन्त्रीले जानकारी दिए ।
यद्यपि, आजको बैठकले कोरोना भाइरस नियन्त्रणका विषयमा थप निर्णय लिनसक्ने बालुवाटारनिकट उच्च स्रोतले जानकारी दिएको छ ।
उक्त स्रोतका अनुसार बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसीलाई थप शक्तिशाली र विशेष अधिकार दिने गरी अध्यादेश ल्याउने सम्भावना छ ।
नेपालमा कोरोना जोखिम बढ्दै जाँदा र अस्पतालहरुमा अभाव र तनाव बढ्दै गर्दा सिसिएमसीलाई शक्तिशाली बनाउने गरी अध्यायदेश जारी गर्ने तयारी गरिएको बताइएको छ ।
स्वास्थ्य सामग्री खरिदमा लाग्ने समय र ल्याउने देश तथा निषेधाज्ञा लगायतका कानुनी व्यवस्थामा परिमार्जन गरेर अध्यादेश ल्याउन लागिएको स्रोतको दाबी छ ।
कोभिडसम्बन्धि कानुन संशोधन गर्नका लागि ‘फास्ट ट्रयाक’बाट भए पनि अध्यादेश ल्याउने तयारी भइरहेको छ, उच्च सरकारी स्रोतले नेपाली नेटवर्कसँग भयो ।
आइतबार सिंहदरबारमा बसेको बैठकमा कानुनी अभाव र अड्चनका कारण कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रणमा समस्या आएको कुरा उठेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आजै अध्यादेश जारी गर्ने र राजपत्रमा प्रकाशित गरेर लागु गर्ने तयारी भएको स्रोतको दाबी छ । हाल संक्रामक रोग ऐन, २०२० कार्यान्वयनमा रहेको छ ।