काठमाडौँ – आज राति र भोलि बिहानसम्म नाटकीय पटाक्षेप नभए प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत नपाउने निश्चित भएको छ । विकसित राजनीतिक घटनाक्रमहरुले प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मत प्राप्त गर्न सम्भव नरहेको स्थिति देखाएको हो ।
प्रमुख विपक्षी नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीलाई विश्वासको मतमा असफल पार्ने घोषणा गरिसकेका छन् भने जनता समाजवादी पार्टीले सांसदहरुलाई स्ततन्त्र मतदान गर्न दिने मध्यमार्गी बाटो तय गरेको छ ।
योसँगै केपी ओली सरकारको बहिर्गनमन निश्चित भएको जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईकोे दाबी छ । संसदबाट विश्वासको मत प्राप्त नहुने स्पष्ट तस्बिर देखिएपछि नेकपा एमालेले प्रतिपक्षमा बस्न तयार रहेको घोषणा गरेको छ ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेका सांसदहरुलाई विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरे पनि अरु दलसँग याचना मात्रै गरिएको बताउनुभयो । विश्वासको मत प्राप्त नभए एमाले प्रमुख प्रतिपक्षी भएर बस्न तयार रहको उहाँले बताउनुभयो ।
यसैबीच नेकपा एमालेलाई एकतावद्ध राख्ने प्रयास पनि सफल नुहने देखिएको छ । एमालेको माधवकुमार नेपाल समूहले पार्टीलाई पुरानै संरचनामा फर्काउनुपर्ने माग सम्बोधन नगरे जुनसुकै कदमका लागि तयार रहेको चेतावनी दिइरहेको छ । यो जुनसुकै कदम भनेको प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपूर्व माधव समूहका सांसदहरुले सामूहिक राजीनामा दिनु हो ।
जति जना सांसदले राजीनामा दिए संसदमा प्रधानमन्त्रीको विश्वासको मत गुम्छ त्यति जनाले राजीनामा दिने तयारी माधव समूहले गरिरहेको छ । माधव समूहमा रहेका नेता भीम रावलले अन्तिमसम्म पनि एकतावद्ध एमालेका लागि आफूहरु प्रयासरत रहेको तर केही सिप नलागे जुनसुकै पाइला चालिने चेतावनी दिनुभयो ।
यता एमाले अध्यक्ष केपी शर्मा ओलीले भने सामूहिक राजीनामा दिनू अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गर्नुभएको छ । आज विज्ञप्ति जारी गर्दै उहाँले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध भन्नुभएको हो ।
‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं भोलि हामी जनतालाई जवाफ दिन्छौं’ उहाँले भन्नुभएको छ, ‘तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु ।’
प्रधानमन्त्रीले यस्तो आग्रह गरे पनि सर्वाेच्चको फैसला अनुसार एमाले पार्टीलाई पुरानै संरचनामा नफर्काइए आफूहरु जुनसुकै कदम चाल्न तयार रहेको माधव समूहको चेतावनी छ ।
यता प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने जिम्मेबारी प्राप्त हुने परिस्थिति निर्माण भएको दाबी गरेको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले अहिले नै सरकारमा जाने कांग्रेसको इच्छा नभए पनि ओली सरकार अत्यन्त गैरजिम्मेवार ठहरिएपछि मुलुकले कांग्रेसलाई सत्ताको जिम्मेबारी दिन उचित ठह¥याएको टिप्पणी गर्नुभया् ।
प्रधानमन्त्री ओलीले भोलि संसदमा विश्वासको मत लिँदै छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएका सांसद भने भोलिको बैठकमा प्रवेश गर्न पाउने छैनन् । तर उनीहरु मतदान प्रक्रियामा भने सहभागी हुन पाउने छन् । संसद सचिवालय स्रोतका अनुसार उनीहरुलाई संसद भवन परिसरमा टेन्टमा राखिने छ ।
मतदान प्रक्रिया सुरु भएपछि संसद भवनको ल्होत्से वा शंकर हलमा उनीहरुका लागि मतदानको व्यवस्था मिलाइने छ । संसद बैठकअघि वैशाख २२, २३ र २४ गते सांसद तथा संसदका कर्मचारीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । जसमध्ये दुई दर्जनभन्दा बढी सांसदलाई कोरोना संक्रमण देखिएको थियो ।