काठमाडौं । नेकपा (एमाले)का निलम्बित वरिष्ठ नेता माधवकुमार नेपालले गलत बाटो प्रयोग गरी संवैधानिक आयोगमा पदपूर्ति नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिनुभएको छ । अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति नगर्न उहाँले आज प्रधानमन्त्री ओलीलाई चेतावनी दिनुभएको हो ।
अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्ने सरकारको कदम अलोकतान्त्रिक भएको नेता नेपालले सामाजिक सञ्जालहरुमा लेख्नुभएको छ । कोरोना महामारी नियन्त्रण र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन सरकार केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ ।
‘कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याईँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो’, उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन । अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु ।’
