काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । विभिन्न संवैधानिक आयोगहरूमा पदाधिकारी तथा सदस्य नियुक्तिको विषयमा निर्णय लिनका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको बताइएको छ ।
उक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष ओलीले आइतबार बिहान ९ बजेका लागि बैठक बोलाउनुभएको छ ।
कांग्रस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले पार्टीले संवैधानिक परिषद्को अध्यादेशको विरोध गरेकाले बैठकमा नजाने बताउनुभयो ।
बैठकमा सभामुख सापकोटाको पनि सहभागी नहुने बताइएको छ । यसअघि परिषद्बाट भएका नियुक्ति सिफारिसविरुद्ध सर्वोच्च अदालत गएकाले पनि उनी बैठकमा सहभागी नहुने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताउनुभयो ।
संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलका नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य हुन्छन् । हाल उपसभामुख पद रिक्त छ ।
लोकसेवा आयोग हाल पदाधिकारीविहीन छ । जसका कारण आयोगले लिने विभिन्न परीक्षा रोकिएका छन् भने लिएका परीक्षाको परिक्षाफल निकाल्न पनि नसकिएको आयोगले जनाएको छ ।
त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्त, समावेशी आयोग, थारु आयोगलगायतमा पदाधिकारी र सदस्य पद रिक्त छन् । ती पदमा नियुक्ति सिफारिसका लागि बैठक बोलाइएको हुनसक्ने बताइएको छ ।