काठमाडौं । सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनी प्रदेश सभाका दुई सांसद एमालेमै फर्किएका छन् ।
आइतबार नेकपा (माओवादी केन्द्र)को संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा समर्थन गरेका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही एमालेमा फर्किएका हुन् ।
उनीहरूले आज विज्ञप्ति निकाल्दै एमाले संसदीय दलप्रति प्रतिबद्ध रहेको बताएका छन् ।
‘सूर्य चिन्हबाट निर्वाचित प्रदेशसभा सदस्य भएकाले हामी नेकपा (एमाले) प्रदेशसभा संसदीय दलप्रति प्रतिबद्ध छौं’, विज्ञप्तिमा भनिएको छ, ‘माननीय कुलप्रसाद केसीसमेतकाले सरकार गठनका सन्दर्भमा गरिएको दाबीमा हाम्रो हस्ताक्षर प्रस्तुत गर्नु बदनियत र त्रुटीपूर्ण छ ।’
उनीहरूले एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री शंकर पोखरेलप्रति समर्थन रहेको बताएका छन् । श्रीवास्तव, कपिलवस्तु–२ ख र शाही नवलपरासी बर्दघाट सुस्ता पश्चिम–१ ख बाट प्रदेश सभामा निर्वाचित सांसद हुन् ।
