Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गण्डकी सरकार जोगाउन स्वस्थ सांसदलाई कोरोना संक्रमित भनेर आइसियूमा भर्ना

गण्डकी सरकार जोगाउन स्वस्थ सांसदलाई कोरोना संक्रमित भनेर आइसियूमा भर्ना

  • बुधवार, बैशाख १५ २०७८

  • 999
    SHARES

  • गण्डकी सरकार जोगाउन स्वस्थ सांसदलाई कोरोना संक्रमित भनेर आइसियूमा भर्ना

    काठमाडौँ – पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले बहुमत गुमाउने पक्कापक्की भएपछि सत्तारुढ नेकपा एमालेले गण्डकी प्रदेश सरकार जोगाउन नाटकीय खेल रचेको छ । यदाकदा दक्षिण भारतीय चलचित्रहरुमा देखिने दृष्य अहिले गण्डकी प्रदेशको राजनीतिमा चम्केको छ ।

    मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा सुरुमा मतदान हुन नदिन पीसीआर परीक्षण गरिनुपर्ने माग गरेको नेकपा एमालेले आज जनमोर्चाका एक जना सांसदलाई बन्धक बनाएको आरोप विपक्षी दलहरुले लगाएका छन् ।

    राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाहीलाई आज प्रदेशसभामा मतदान हुने समयमा सम्पर्कबिहीन पारिएको थियो । एक जना पनि सांसद अनुपस्थित भए अविश्वास प्रस्ताव फेल हुने अवस्थामा शाही सम्पर्कबिहीन भएपछि राष्ट्रिय जनमोर्चाले दिएको निवेदनका आधारमा संसद बैठक स्थगित भयो ।
    अन्ततः सांसद शाहीलाई पोखराको चिराक अस्पतालको आइसियूमा भर्ना गरिएको खुलासा भयो ।

    हिजो गरिएको परीक्षणको आज बिहान प्राप्त रिपोर्टमा कोरोना नेगेटिभ रहेका सांसदलाई आज कोरोना संक्रमित भनेर कोभिड विशेष अस्प्तालको आइसियूमा भर्ना गरिएको अनौठो घटनापछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रियाहरु उब्जेका छन् ।

    धेरैले सत्तारुढ एमालेले जनमोर्चाका सांसदलाई प्रलोभनमा पारी बन्धक पारेर अस्पतालमा राखेको आरोप लगाएका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले घटनाका सम्बन्धमा छानबिन सुरु गरिएको बताउनुभयो । नेपाली रेडियो नेटवर्कलाई प्रतिक्रिया दिँदै केसीले आफ्ना सांसदलाई अपहरण गरिएको हुन सक्ने आशंका व्यक्त गर्नुभयो ।

    प्रमुख विपक्षी नेपाली कांग्रेसले गण्डकीमा सत्ताको गुण्डागर्दी देखिएको टिप्पणी गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले जनमोर्चाका सांसदलाई सत्तापक्षले अस्पतालभित्रै बन्धक बनाएको आरोप सामाजिक सञ्जालमार्फत लगाउनुभएको छ । सांसद शाहीलाई जनमोर्चाका नेताहरुसँग पनि भेट गर्न दिइएको छैन भने उहाँलाई राखिएको अस्पतालमा प्रहरीले पहरा दिइरहेको छ ।

    संसदीय प्रणालीको फोहोरी खेल आज गण्डकीमा पुनरावृत्ति भएको कांग्रेस नेता चन्द्र भण्डारीले बताउनुभयो । यस्ता घटनाले संसदीय व्यवस्थाकै अपमान हुने उहाँको भनाइ छ ।

    तर सत्तारुढ एमालेले भने कांग्रेस माओवादीको इशारामा सभामुखले सदन स्थगित गरेको भन्दै आपत्ति प्रकट गरेको छ । अविश्वासको प्रस्ताव फेल हुने देखेपछि सभामुखले विपक्षीको प्रभावमा परेर संसद बैठक स्थगन गरेको एमाले सांसद कृष्णबहादुर थापाले बताउनुभयो । उहाँले आजको घटनाको जिम्मेबारी सभामुखले लिनुपर्ने जिकिर गर्नुभयो ।

    गण्डकी प्रदेशमा कुल ६० जना सांसद छन् । त्यसमध्ये कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका ३ र र जसपाका २ जनासमेत गरी ३१ जना मुख्यमन्त्रीको विपक्षमा छन् । यी सबैले अविश्वास प्रस्तावको पक्षमा मतदान गरे एमालेको सरकार ढल्छ ।

    तर, जनमोर्चाका एकजना सांसदलाई मात्रै मतदानमा अनुपस्थित गराउने हो भने अविश्वासको प्रस्ताव फेल हुन्छ र सरकार जोगिन्छ ।

    ही नियतका साथ एमालेले जनमोर्चाका सांसदलाई बन्धक पारेको विपक्षी दलहरुले आरोप लगाएका छन् । अब प्रदेशसभाको अर्काे बैठक कहिले बस्ने टुंगो लागेको छैन ।


    बुधवार, बैशाख १५ २०७८०८:२३:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij