काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहमा रहेका सांसदहरुलाई जुनसुकै बेला पदमुक्त गर्ने तयारी गर्नुभएको छ ।
सरकारको रक्षाका लागि पदमुक्त गर्नुपर्ने माधव समूहमा रहेका सांसदहरुको सूचि समेत प्रधानमन्त्री ओलीले तम्तयार पारेर राखेको बालुवाटार श्रोतले बताएको छ ।
प्रधानमन्त्रीविरुद्ध कांग्रेस माओवादी र जसपाको एक समूहले अविश्वास प्रस्ताव दर्ता गर्ने र त्यसमा माधव नेपाल समूहका सांसदले फ्लोर क्रस गरेर साथ दिने सूचना पुगेपछि प्रधानमन्त्री ओलीले त्यसअगावै उनीहरुलाई पदमुक्त गर्ने तयारी गर्नुभएको हो ।
आज बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक समितिको बैठकमा समेत प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुनेबारे छलफल भएको छ ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले माधव समूहमा रहेका सांसदहरुले फ्लोर क्रस गर्न सक्नेबारे आजको बैठकमा छलफल भएको र सरकारको रक्षाका लागि आफूहरु सचेत रहेको बैठकपछि संवाददाताहरुलाई बताउनुभयो ।
‘फ्लोर क्रस’ गरेर सरकार ढाल्न सक्ने सम्भावना देखेपछि त्यसलाई रोक्न ओलीले स्पष्टीकरण सोधेर कारबाहीको प्रक्रिया यसअघि नै बढाइसक्नुभएको छ । एमालेले कारबाहीबारे निर्णय गर्ने जिम्मा स्थायी कमिटिलाई दिइसकेको छ ।
जतिबेला सांसदले ‘फ्लोर क्रस’ गर्ने पक्का संकेत मिल्यो त्यतिबेला नै उनीहरुलाई सांसदबाट पदमुक्त गर्ने निर्णयका लागि ओली तम्तयार रहेको श्रोत बताउँछ ।
तर पछिल्ला दिनहरुमा एमालेका निलम्बित नेता माधवकुमार नेपालले भने ओलीलाई हटाउने योजना आफूहरुको नरहेको बताउँदै आउनुभएको छ । मेरियट होटलमा भएको वार्तामा पनि यसबारे ओलीलाई अवगत गराएको नेता नेपालले बताउनुभयो । उहाँले माधव नेपालले अविश्वास प्रस्ताव ल्याएर हटाउँछ कि भनेर नतर्सन ओलीलाई आग्रह गर्नुभयो ।
यता ओली सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको प्रमुख विपक्षी नेपाली कांग्रेसले पनि सरकार ढल्ने ग्यारेन्टी नहुँदासम्म अविश्वास प्रस्ताव नल्याउने बताएको छ ।
सरकार ढाल्न पुग्ने संख्याका लागि निरन्तर पहल भइरहेको कांग्रेस उपसभापति विमलेन्द्र निधिले बताउनुभयो । तर संख्या पुग्ने ग्यारेन्टी नभएसम्म आफै खाडलमा पर्ने काम कांग्रेसबाट नहुने उहाँले बताउनुभयो।
यसअघि कर्णालीमा ‘फ्लोर क्रस’ गरेर माआवादी सरकार ढाल्ने ओली समूहको योजना असफल पारेलगत्तै माधव समूहका नेता भीम रावलले कर्णाली घटना अरु प्रदेश र केन्द्रमा पनि दोहोरिने बताउनुभएको थियो ।
अहिले पनि माधव नेपालले माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग लगातार गोप्य संवादको श्रृङखला चलाइरहेकोले ‘फ्लोर क्रस’ घटना दोहोरिन सक्ने भयमा प्रधानमन्त्री ओली रहेको निकट नेताहरु बताउँछन्।