काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनपछि एकल अध्यक्ष र प्रधानमन्त्री बन्न प्रस्ताव गरेको खुलासा गर्नुभएको छ ।
आफूपक्षीय अथार्त पूर्व माओवादी खेमाका नेताहरुसँगको सोमबारको छलफलमा प्रचण्डले त्यसका लागि जनताको बहुदलीय जनवाद मान्न ओलीले आग्रह गरेको तर आफूले इन्कार गरेको बताउनुभएको हो ।
प्रचण्डले पूर्व माओवादीका सबै स्थायी कमिटि सदस्यहरुलाई आज बिहान खुमलटारस्थित निवासमै बोलाएर यसबारे बिप्रिङ गर्नुभएको थियो । सो क्रममा पार्टीको विवादबारे अब कसरी अघि बढ्ने भन्नेबारे सुझाव समेत संकलन गरिएको थियो ।
बैठकमा प्रचण्डले पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद माने महाधिवेशनबाट एकल अध्यक्ष र त्यसले पनि नपुगे प्रधानमन्त्री समेत बताउने प्रस्ताव ओलीले राख्नुभएको जानकारी गराउनुभएको थियो । तर ओलीको उक्त प्रस्तावलाई इन्कार गरेको कुरा अध्यक्ष प्रचण्डले आफूहरुसँगको छलफलमा सुनाउनुभएको स्थायी कमिटि सदस्य लिलामणि पोखरेलले जानकारी दिनुभयो ।
नेतृत्व परिवर्तनकै कुरामा सहमति खोज्ने हो भने त्यो काम त केन्द्रीय समितिबाटै हुन सक्ने कुरामा ओली र दाहालबीच सवाल जवाफ भएको उहाँले जानकारी दिनुभयो ।
शीतल निवासमा शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँगको छलफलमा मंसिरमा महाधिवेशन गरेर आफूलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न प्रस्ताव गरिएको प्रचण्डले नेताहरुलाई जानकारी गराउनुभएको हो । तर मंसिरमा महाधिवेशन सम्भव नभएको कुरा आफूहरुले अध्यक्ष प्रचण्डसमक्ष राखेको नेता पोखरेलले बताउनुभयो ।
यसका साथै अब पार्टीको विवाद धेरै लम्ब्याउन नहुनेमा पूर्व माओवादी खेमा सहमत भएको छ । अहिलेको अवस्थामा युद्धविराम गरेरै अघि बढ्नु उचित हुने धारणा अधिकांश नेताहरुले राखेको बताइएको छ । नेता पौडेलले कुनै पनि हालतमा पार्टी फुटको संघारमा जान नहुने गरी अघि बढ्नुपर्ने सुझाव आफूहरुले दिएको बताउनुभयो । तर यसको मतलब पार्टीका सबै बेठिक क्रियाकलापहरुलाई स्वीकार गर्दै जाने अन्यथा पार्टी फुट्छ भन्ने मानसिकताकाबाट आतंकित हुन नहुने सुझाव दिएको उहाँले बताउनुभयो ।
यता राष्ट्रको सर्वोच्च र साझा पदमा रहनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारी सत्तारुढ दल नेकपाको विवादमा संलग्न भएपछि उहाँलाई राष्ट्रपति हो की नेकपाको सल्लाहकार हो भन्ने प्रश्न उठ्न थालेको छ ।
बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले संविधानले नदिएको काम राष्ट्रपति भण्डारीले गरिरहेको दाबी गर्नुभयो । उहाँले राष्ट्रपति भण्डारी देशको राष्ट्रपति हो की नेकपाको सल्लाहकार हो भन्ने अलमल हुन थालेको टिप्पणी गर्नुभयो । संविधानको संरक्षकले नै संविधानको ध्वज्जी उडाउन थालेपछि संविधान नै समाप्त हुने चेतावनी पनि उहाँले दिनुभयो ।
तर नेकपाका कतिपय नेताहरु कुतर्क गरेर राष्ट्रपति भण्डारीको भूमिकाको बचाउमा उत्रेका छन् । पूर्वमन्त्री समेत रहनुभएका नेकपाका नेता लालबाबु पण्डितले दलका नेताहरुसँग राष्ट्रपतिको छलफललाई अन्यथा लिन नसकिने बताउभयो । समसामयिक राजनीतिबारे जनताको हितमा राष्ट्रिपतिले चासो मात्रै व्यक्त गरिरहेको उहाँको दाबी छ ।
पटक पटक स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटि बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ । पार्टीको विवादबारे तत्कालका लागि युद्धविराम गरेर अघि बढ्न पूर्व माओवादी खेमाले संकेत दिएपछि भोलिको बैठक सुचारु हुने सम्भावना बलियो बनेको छ । तर पार्टीका दुई अध्यक्षबीचको सहमति मात्रै मान्य नहुने चेतावनी वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले दिएपछि विवाद थामथुम पार्ने प्रयास सफल हुने छाँट भने देखिएको छैन ।